त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश
गण्डकी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले गण्डकीलाई ६८ रनले पराजित गरेको हो। आर्मी क्लबले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेश २३.४ ओभरमा ६४ रनमै समेटियो।
गण्डकीका लागि इश्वर क्षेत्रीले १६ र करण पंगेनीले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
आर्मी क्लबका लागि शहाब आलामले चार, जितेन्द्र मुखिया र कुशल मल्लले दुई–दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको आर्मी क्लबले ३९.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। आर्मीका लागि इम्रान शेखले ३४, सोमपाल कामीले २३ र विनोद भण्डारीले १९ रन बनाए।
गण्डकीका लागि विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई–दुई तथा सन्दीप पराजुली र रोशन गौतमले एक–एक विकेट लिए।
यो जितसँगै आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ। आर्मी क्लबले नौ खेलमा सात खेल जितेर १४ अंक जोडेको छ।
नेपाल प्रहरी क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ। शीर्षस्थानमा रहेको प्रहरी क्लबको १६ अंक छ। प्रहरी क्लबले अहिलेसम्म खेलेका आठै खेल जितेको छ।
फाइनल खेल प्रहरी क्लब र आर्मी क्लबबीच शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।