योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त
राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले योजना आयोगको रिक्त सदस्य पदमा प्रसादलाई नियुक्त गर्ने निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। योजना आयोगको सदस्य नियुक्त प्रसाद रौतहटका बासिन्दा हुन्।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ। उनी यसअघि निगमको सञ्चालक समिति सदस्य थिए।
सरकारले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा पनि दुई जना सदस्य नियुक्त गरेको छ। सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका डा. साहारा श्रेष्ठलाई सदस्य नियुक्त गरिएको प्रवक्ता शर्माले बताइन्।
यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यापार सहजिकरण समिति गठन गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा समिति गठन गरिनेछ।