यूएसएमएलई परीक्षामा असामान्य नतीजा आएको भन्दै नेपाली परीक्षार्थीको अंक रद्द
अमेरिकाको चिकित्सा अभ्यास अनुमतिपत्र परीक्षा (यूएसएमएलई) ले नेपालका केही परीक्षार्थीको अंक रद्द गरेको छ।
यूएसएमएलई परीक्षामा केही नेपाली परीक्षार्थीको असामान्य नतीजा आएको र त्यसले परीक्षाफलको प्रामाणिकतामै प्रश्न गर्ने भएकाले ती परीक्षार्थीको अघिल्लो चरणको अंक रद्द गरिएको बताइएको छ। यूएसएमएलईको सचिवालयले त्यस्ता परीक्षार्थीलाई जानकारी गराइरहेको र उनीहरूले प्रमाणीकरण परीक्षा दिनुपर्ने जनाइएको छ।
‘अत्यन्तै अनियमित ढाँचाहरूले सुरक्षित परीक्षा सामग्रीमा अनधिकृत पहुँच भएको हुनसक्ने संकेत गरेको छ,’ यूएसएमएलईले एक विज्ञप्ति जारी गर्दै बताएको छ। ककसको परीक्षाफल रद्द भएको बारे भने यूएसएमएलईले खुलाएको छैन।
अमेरिकामा चिकित्सा अभ्यास गर्नका लागि अन्य देशका चिकित्सकले त्यहाँको लाइसेन्स परीक्षा (यूएसएमएलई)को तीन चरण पार गर्नुपर्छ।