कलेज पढ्ने विद्यार्थीलाई आर्थिक रुपमा सघाउन र सामुदायिक विद्यालयमा शिक्षकको अभाव पूरा गर्न बर्दियाको एक स्थानीय सरकारले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याएको छ।
सामुदायिक विद्यालयका प्रमुख समस्यामध्ये एक हो, शिक्षक अभाव। अझ शहर र सदरमुकामभन्दा टाढाका विद्यालय त वर्षौंदेखि शिक्षकको कमि झेल्दै आइरहेका छन्।
बर्दियाको बाँसगढी नगरपालिकामा पनि यस्तै समस्या थियो। नगरपालिका अन्तर्गतका ४० वटा सामुदायिक विद्यालयमा शिक्षक पदपूर्ति गर्न नसकेपछि जनप्रतिनिधिले नयाँ उपाय निकालेका छन्, स्वयंसेवक शिक्षक।
यसका लागि बाँसगढी नगरपालिकाले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याएको छ। “यो कार्यक्रम अन्तर्गत कलेजमा पढ्न विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा छनोट गरेर पढाउन पठाउँछौं,” नगरपालिकाको योजना शाखा कर्मचारी मदन भण्डारी भन्छन्।
यस कार्यक्रमअन्तर्गत बाँसगढी क्षेत्रका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई योग्यता र दक्षताका आधारमा स्वयंसेवक शिक्षकका रुपमा छनोट गरिन्छ। उनीहरूलाई तालिम दिएपछि नगरक्षेत्रकै सामुदायिक विद्यालयमा खटाइन्छ।
यसरी छनोट भएका विद्यार्थीले ४० दिन पढाउन पाउँछन्। उनीहरूले कक्षा १ देखि ८ सम्म पढाउन पाउने व्यवस्था गरिएको छ। त्यसबाफत नगरपालिकाले दैनिक प्रोत्साह सुविधा भनेर ५०० रुपैयाँ दिने गरेको छ।
यसले क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामुदायिक विद्यालयलाई फाइदा पुगेको विद्यालय निरीक्षक छत्रबहादुर शाही बताउँछन्। “नगरक्षेत्रमा यो कार्यक्रम शैक्षिक गुणस्तर वृद्धि गर्न, शैक्षिक बेरोजगारी कम गर्न प्रभावकारी भएको छ।,” शाही भन्छन्। स्वमंसेवक विद्यार्थी शिक्षकलाई विद्यालयको माग र आवाश्यकताका आधारमा खटाइने गरेको उनी बताउँछन्।
यो कार्यक्रम गत आर्थिक वर्ष २०७९/८० मा शुरू भएको हो। पहिलो वर्ष ३८ विद्यार्थीलाई स्वयंसेवक शिक्षक नियुक्त गरिएको थियो।
यो सफल भएपछि बजेट पनि वृद्धि गरिएको योजना शाखाका कर्मचारी भण्डारी बताउँछन्। यो वर्ष ७० विद्यार्थी छनोट गर्न लागिएको छ। “गत वर्ष चार लाख बजेट थियो। कार्यक्रम प्रभावकारी भएपछि यो वर्ष १६ लाख रुपैयाँ छुट्याइएको छ,” भण्डारी भन्छन्।
गरीब विद्यार्थीलाई क्याम्पसको पढाइ पूरा गर्न सहयोग पुगोस् र विद्यालयको पढाइ पनि सुधार्न सकियोस् भनेर यो कार्यक्रम ल्याइएको उपमेयर इन्दिरा चौधरी बताउँछिन्। “निम्न आयस्तर भएका मुक्त कमैया, दलित, सुकुम्बासी वर्गका विद्यार्थीलाई क्याम्पस तहमा लाग्ने खर्चको जोहो गर्न, शैक्षिक बेरोजगारी कम गर्नका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम शुरू गरिएको हो,” उपमेयर चौधरी भन्छिन्।
पहिलो वर्षलाई हेर्दा दुवै हिसाबले कार्यक्रम सफल भएको उनको भनाइ छ। “पहिलो, यो कार्यक्रममा छनोट भएका विद्यार्थीलाई क्याम्पसको पढाइलाई निरन्तरता दिन सहयोग पुगेको छ,” उनी भन्छिन्, “सामुदायिक विद्यालयमा भएको शिक्षकको कमिलाई पनि पूरा गरेको छ। नगरक्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी भएको छ।”
बाँसगढी नगरपालिकामा ४० वटा सामुदायिक विद्यालय छन्। सबै विद्यालयमा शिक्षक अभाव रहेकाले यो कार्यक्रमलाई थप विस्तार गरिने उपमेयर चौधरी बताउँछन्।