नेपाली चिकित्सकको टोलीबाटै पहिलोपटक कलेजो प्रत्यारोपण
नेपालमै पहिलोपटक नेपाली चिकित्सकको टोलीबाट कलेजो प्रत्यारोपण सफल भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा पहिलोपटक स्वेदेशी टोलीबाटै कलेजो प्रत्यारोपण गरिएको हो। यसअघि नेपालमा हुने कलेजो प्रत्यरोपणमा विदेशी चिकित्सकको सहायता लिइन्थ्यो।
डा. भण्डारी नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्।
नेपाली चिकित्सकको टोलीबाटै प्रत्यारोपण सफल भएपछि अब नेपालमा कलेजो प्रत्यारोपणको सङ्ख्या बढ्ने डा. भण्डारीले बताए। यसअघि भारतीय चिकित्सकको समय मिलाउन नसक्दा वर्षमा एकाध मात्र प्रत्यारोपण हुने गरेका थिए। जसको कारण प्रत्यारोपण गर्नुपर्ने धेरैले पालो पाएका थिएनन्। “यो सफलता नेपालमा कलेजो प्रत्यारोपणका लागि कोशेढुंगा हो,” डा. भण्डारीले भने।
कलेजो दान गरेकी ४० वर्षीया महिला १० दिनमा डिस्चार्ज भएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने आज डिस्चार्ज गर्ने तयारी रहेको डा. भण्डारीले बताए।
त्रिविमा पहिलोपटक २०७६ जेठ १७ गते पहिलो कलेजो प्रत्यारोपण भएको थियो। त्यसयता १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन्। “अब हामी नियमित कलेजो प्रत्यारोपण गर्न सक्ने भएका छौं,” डा. भण्डारीले भने।