हिउँचितुवा पछ्याइरहेका डोल्पाली युवा
हिउँचितुवाको फोटो खिच्न पटकपटक उपल्लो डोल्पा धाएका राहुल गुप्ताले तीन वर्षमा बल्ल सफलता पाए।
झट्ट सुन्दा मधेशी जस्ता लागे पनि हिमाली जिल्ला डोल्पाका बासिन्दा हुन्, राहुल गुप्ता। सदरमुकाम दुनै रहेको ठूलीभेरी नगरपालिका–२ उनको स्थायी ठेगाना हो।
सुर्खेत बस्दै आएका राहुलका बुबाले डोल्पा आउने-जाने क्रममा २५ वर्षअघि दुनैमै घरजम गरेका रहेछन्। २३ वर्षे राहुल चाहिं विदेश जाने ध्याउन्नमा थिए कुनै वेला। अस्ट्रेलियाका लागि सम्पूर्ण प्रक्रिया पुर्याएर भिसाको प्रतीक्षामा थिए। तर साथीभाइको भिसा आयो, उनको आएन। दुई महीना निकै छटपटिए।
फोटोग्राफीका सोखिन उनले अस्ट्रेलिया जाने धुनमा आफ्नो ४०००-डी क्यामेरा नै बेचिसकेका थिए जुन २०७४ सालमा एसईई सकेर काठमाडौं आएपछि किनेका थिए। प्रमाणपत्र तह पढ्दै गर्दा फुर्सदमा वसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्रका फोटो खिच्थे। क्यामेरा बेचे पनि अस्ट्रेलिया पुगेपछि वन्यजन्तु फोटोग्राफीबारे नै पढ्ने सोच थियो।
भिसा नआए पनि उनको इरादा भने बदलिएन। फोटोग्राफीमै केही गर्नुपर्छ भनेर अघि बढिरहे। जडीबुटीका कारोबारी बुबा उनलाई व्यवसायकै सिलसिलामा गाउँगाउँ पठाउँथे। यही क्रममा २०७८ सालमा यार्सागुम्बा संकलनको सिजनमा उनी उपल्लो डोल्पा पुगे। त्यहाँ हिउँचितुवाबारे सुने। भन्छन्, “त्यसअघि मलाई हिउँचितुवाबारे थाहा थिएन। चितुवा र हिउँचितुवाको फरक त्यहीं थाहा पाएँ।”
राहुललाई हिउँचितुवाको फोटो खिच्ने हुटहुटी लाग्यो। यसकै लागि स्थानीय सहकर्मीहरूसँग गाउँमाथिको लेकतिर गए। तर हिउँचितुवा देखेनन्। बुझे- दुर्लभ हिउँचितुवालाई फेला पार्नु पनि दुर्लभ काम रहेछ।
उनी स्नातक अध्ययनका लागि फेरि काठमाडौं आए। एउटा कलेजमा कानून विषयमा भर्ना भए। तर धारा-उपधाराले उनलाई तानेनन्। बरु फोटोकै सोखले पछ्याइरह्यो। भिसा आवेदन अस्वीकृत भएपछि बीमाको रकम जोरजाम पारेर २०७९ माघमा दुई लाख १४ हजारमा क्यामेरा किने। काठमाडौंमै बस्दा हिउँचितुवाबारे थप अध्ययन गरे।
फोटोग्राफीमा रुचि भए पनि घरमा यसैमा लाग्छु भन्न सकेका थिएनन्। किनभने बाआमालाई यो एउटा छुट्टै पेशा हो भन्ने बुझाउन गाह्रो थियो। “त्यही भएर बुबाको व्यापारमा सघाउँदै यो काम गर्नुपर्यो। उपल्लो डोल्पा जाँदा बुबाको काम पनि हुने र आफ्नो पनि,” उनी भन्छन्।
अब उनले चितुवाको आनीबानी र वासस्थानबारे नबुझीकन फोटो खिच्न नसकिने बुझिसकेका थिए। हिउँचितुवाको फोटो खिचिसकेका मनाङका तासी लामासँग यसबारे परामर्श गरे। मध्य फागुनमा उनी फेरि उपल्लो डोल्पा गए।
यसपटक उनी जहाँ बसे, त्यहाँका स्थानीयले हिउँचितुवा आउने गरेको सुनाए। राति चितुवा कराएको आवाज पनि सुनियो। अब उनले फोटो खिच्न सम्भव हुने सोचेका थिए। तर सबैभन्दा छिटो कुद्ने प्राणीलाई भिरैभिर पछ्याउन मान्छेले कहाँबाट सक्नु? उनले झन्डै २० दिन ढुके तर फोटो खिच्न सकेनन्। “बरु उल्टै चिसोले मेरो सातो लियो अनि दुनै फर्किएँ,” राहुल सुनाउँछन्।
चैत अन्त्यमा उनी फेरि उपल्लो डोल्पा पुगे। वैशाख १ गते हिउँचितुवाले ४० वटा च्यांग्रा मारेको खबर आयो। उक्त घटना आफू बसेको ठाउँ नजीकै भएकाले यसपालि त पक्कै फोटो खिच्न पाइएला भन्ने आस जाग्यो।
उनी राति ११ देखि २ बजेसम्म क्यामेरा तेर्स्याएर पर्खिरहे। तर चितुवा आएन। बरु चिसोले ओठ र अनुहार फुट्यो। डोल्पा उक्लने त्यसपछिको साइत लगत्तै जेठ पहिलो साता जुर्यो, यार्सा टिप्ने सिजनमा। उनी सधैंझैं स्थानीय सहकर्मी फुर्वा तामाङ लगायतसँग डाँडातिर उक्लिए। त्यहीं बास बसे। बिहान चिसो बढ्दै थियो। परको डाँडामा केही चलमलाएजस्तो देखियो। नाउर पनि हुन सक्थ्यो। तर साथीहरू चिच्याए- ‘चितुवा हुन सक्छ, क्यामेराबाट हेर् त।’
उनीहरूले शुरूमा मोबाइलबाटै खिचे। हेर्दा चितुवा नै रहेछ। त्यसपछि राहुलले क्यामेरा झिकेर १८ बाइ ३५ को लेन्सबाट एकपछि अर्काे स्न्याप हानिरहे। “जेठ ४ को बिहान पौने ५ देखि ६ बजेको बीचमा तीन वटा हिउँचितुवा एकै ठाउँ देख्न पाइयो,” उनी सुनाउँछन्। राहुललाई यति वेला दन्त्यकथाको कुनै पात्र साक्षात् देखेको अनुभूति भइरहेथ्यो। नहोस् पनि किन? तीन वर्षदेखिको मेहनत जो सफल भएको थियो।
राहुलले त्यो फोटो ४२ सय मिटर उचाइको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा खिचेका थिए। तर, १५-२० मिनेटमै हिउँ पर्न थालेकाले तल झरिहाल्न पर्यो। चितुवालाई पछ्याइरहन पाएनन्। राम्ररी उज्यालो भइनसकेकाले फोटो अलिक अँध्यारो थियो। त्यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग पुर्याएर प्रमाणीकरण गराए। गत वर्ष एक विदेशीले खिचेको दाबी गरेको हिउँचितुवाकै फोटो फर्जी प्रमाणित भएकाले राहुललाई आफ्नो फोटोमा पनि त्यस्तै आशंका गरिएला कि भन्ने चिन्ता थियो।
उनले हिउँचितुवाका ६ वटा ‘स्न्याप’ लिएका थिए जसमा माउ र दुई वटा बच्चा थिए। राहुलका अनुसार उनीअघि नेपालमा एउटै ‘स्न्याप’मा तीन वटा हिउँचितुवा कैद गर्ने मनाङका तासी घले मात्र हुन्। तीन महीनायता राहुल ‘चैतन्य डिजाइन’ सँग जोडिएका छन्। डिजिटल मार्केटिङ गर्ने यो संस्थाले क्यामेरा र आवश्यक खर्च उपलब्ध गराइदिंदा फोटोग्राफी यात्रा थप सहज हुँदै छ।
राहुलले खिचेका फोटोमा माथिल्लो डोल्पाका नै धेरै छन्। केही साताअघि काठमाडौंमा तिनको प्रदर्शनी गरियो। तिन्जे, साल्दाङ, घोतराप, ताक्सी, ज्याङ्लापास लगायत स्थानमा खिचिएका ती सबै फोटो चार हजार मिटरभन्दा माथिको उचाइका हुन्। प्रदर्शनीमा बिक्री भएका फोटोबाट संकलित रकम दुनैको स्थानीय विद्यालयलाई सहयोग गरिएको थियो।
द न्युयोर्करका पत्रकार माल्कोम ग्लाडवेलले आफ्नो किताब ‘आउटलायर्स’ मा कुनै पनि विधामा पारंगत हुन १० हजार घन्टाको लगाव चाहिने उल्लेख गरेका छन्। राहुलले हिउँचितुवाको खोजीमा कति घन्टा बिताए, यकिन छैन। तर यो तीन वर्षमा धेरै बुझिसकेका छन्- माउले बच्चालाई सिकार गर्न, पानी खान सिकाउन तलतिर झार्दो रहेछ। त्यही वेला फोटो खिचिहाल्नुपर्ने रहेछ। उनले बुझेको अर्को कुरा हो- उच्च हिमाली मौसम र उथलपुथल।
“मान्छेले सारा जीवन एउटै विषयमा बिताउँदा पनि भर्खर सिक्दैछु भन्छ। म त जम्मा तीन वर्ष भयो। अझ धेरै गर्नु छ,” राहुल भन्छन्।
यसबीच उपल्लो डोल्पासँग उनको गहिरो लगाब बसेको छ। आफ्नो फोटोग्राफीबाट त्यहाँको पर्यटन विकासमा सक्दो सहयोग पुगोस् भन्ने चाहेका छन्। उनको सामाजिक सञ्जालमा बढीजसो डोल्पाकै फोटो देखिनुको कारण यही हो। माघ अन्तिममा उनी फेरि त्यहाँ जाँदै छन्। ध्याउन्न उही छ- हिउँचितुवाको अझ राम्रो फोटो खिच्ने।