आशिफको शतकले पनि जोगिएन एपीएफ
आशिफ शेखले शतह प्रहार गरे पनि सशस्त्र प्रहरी बलको एपीएफ क्लब कर्णालीसँग पराजित हुँदै फाइनलको दौडबाट बाहिरिएको छ।
कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ ४४ ओभरमा १८५ रनमै समेटिएको छ। यो हारसँगै एपीएफको फाइनलको यात्रा टुंगिएको छ।
एपीएफका लागि शेखले ११२ बलमा १०८ रन बनाए। उनले १० चौका र दुई छक्का प्रहार गरे। अर्काातिर भने लगातार विकेट झर्दै गएपछि एपीएफले सामान्य लक्ष्य पनि भेटाउन सकेन।
एपीएफका लागि अमर रौटेलाले २८, रोहित पौडेलले १४ र लोकेश बमले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
कर्णालीका लागि प्रकाश जैशीले चार, उनिष सिंह र दिपेन्द्र राउतले दुई-दुई तथा दिनेश अधिकारी र दिवान पुनले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो। कर्णालीका लागि हिमांशु शाहीले ६२, अर्जुन घर्तीले ५३, दिपेन्द्र रावतले २७ र रविन्द्र शाहीले २२ रन बनाए।
त्यस्तै, एपीएफका लागि मौसम ढकालले तीन, अमर रौटेलाले दुई, भुवन कार्की र रमेश कुर्मीले एक-एक विकेट लिए।
यो जितसँगै कर्णालीको आठ अंक भएको छ। अहिलेसम्मका सातै खेल जितेको नेपाल प्रहरी क्बल १४ अंक सहित शीर्षस्थानमा छ। प्रहरी क्लब फाइनलमा पुगिसकेको छ।
दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १२ अंक छ। आर्मी क्लबको एक खेल बाँकी छ। बागमती र मधेश प्रदेशको समान १२ अंक भए पनि रनरेटका आधारमा तेस्रो चौथो स्थानमा छन्। दुवैले लिग चरणका सबै खेल खेलिसकेको छ। आर्मी क्लबले बिहीबार गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।