प्रहरीसँग हातपातको आरोपमा पक्राउ यादवलाई छुटाउन नेताहरुको दबाब
मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ परेका समाजवादी पार्टी, मोरङका नेता उमेश यादवलाई छुटाउन नेताहरुको दबाब आएको प्रहरीले जनाएको छ ।
प्रहरीसँग विवादको आरोपमा तत्कालिन मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष रहेका यादवलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको थियो ।
नेता यादव पक्राउ परेपछि उनलाई छुटाउन नेताहरुको थामिनसक्नुको दबाब आएको मोरङका प्रहरी नायब उपरिक्षक राजकुमार खिउजुले बताए ।
“दबाब धेरै छ, नेताहरु स्वयं आउनु भएको थियो, हामीले सम्झाएर पठाएका छौं” खिउजुले भने ।
यादवलाई विराटनगरको रोडशेष चोकमा जाँचमा रहेका प्रहरी जवान श्यामकुमार चौधरी माथि हातपातको आरोप छ ।
यादवलाई बुधबार प्रहरीले जिल्ला अदालतबाट सात दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको छ ।
प्रहरीका अनुसार, मंगलबार राती प्रहरी चेकिङमा पर्दा मोटरसाइकल पछाडि बसेका यादवले प्रहरीसँग विवाद र हातपात गरेको आरोप छ ।
यादव गएको स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरका प्रत्यासी थिए ।
फाइल तस्वीरः पार्टी अध्यक्ष उपेन्द्र यादवसँग उमेश यादव (बायाँ)