बाङ्लादेश विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ अन्तर्गत बाङ्लादेश विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ शुरू गरेको छ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा नेपालको तर्फबाट विपिन रावल र अर्जुन कुमालले ब्याटिङ गरिरहेका छन्। नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा पुगेको हो।
समूह चरणमा नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। बाङ्लादेशले भने समूह चरणको खेलमा आयरल्यान्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।
यसअघि नेपाल र बाङ्लादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन्। सन् २००२ मा भएको विश्वपकमा नेपालले बाङ्लादेशलाई २३ रनले पराजित गरेको थियो। त्यस्तै सन् २०१६ को विश्वकपमा नेपाल बाङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो।
नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन्।