म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु : प्रधानमन्त्री दाहाल
सरकारले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेकाले अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहने प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्।
नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतामा दृढ रहेको बतताए। “म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु,” दाहालले भने।
डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँच भएका दर्शकका रूचिलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो। सरकारले नवीनतम् प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको प्रधानमन्त्री दाहालले स्मरण गराए।
दीर्घकालमा न्यू-मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाइने उनको भनाइ थियो। “पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले केही नयाँ नीतिगत व्यवस्था नियन्त्रणका लागि नभई, नियमन र व्यवस्थापनका लागि हुन्,” प्रधानमन्त्री दाहालले भने।
सामाजिक सञ्जाल विस्तारित हुँदै गर्दा मूलधारका सञ्चारमाध्यम र सञ्चारकर्मीको जिम्मेवारी अझ बढ्दै गएको उनको भनाइ थियो। “गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ,” दाहालले भने, “त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर तथा संवेदनशील हुनुपर्दछ।”