बीपी प्रतिष्ठानका उपकुलपतिलाई मोसो दल्न खोज्ने तीन जना पक्राउ
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की लगायत चार जना पदाधिकारीलाई मोसो दल्न खोज्ने तीन जनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार भीमबहादुर सार्की, शेरबहादुर कटुवाल र खेमबहादुर थापालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। उनीहरू मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ।
प्रा.डा. कार्कीले नै आज करीब साढे ११ बजेतिर सार्की, कटुवाल र थापालाई भेटन बोलाएका थिए। कार्कीको कार्यकक्षमा पुग्ने बित्तिकै उनीहरूले प्लास्टिकको बोतलमा रहेको मोबिल प्रहार गरेका थिए। तर, प्रहरी सहायक निरीक्षक कृष्ण भट्टराईले छेकेपछि उनीहरूले मोबिल दल्न नपाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।