उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रमका लागि थप बजेट माग गरिने
दूधमा दिइएको अनुदान कटौती गर्न लागेको भन्दै धर्नामा उत्रेका कृषकहरू र बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पदाधिकारीहरूबीच तीन बुँदे सहमति भएको छ।
सहमति अनुसार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा लागेको तालाबन्दी खोलिने भएको छ। केही बेरअघि कृषकहरूले निर्देशनालयमा धर्ना सहित तालाबन्दी गरेका थिए।
यस्तै, उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम कायम रहने तथा गत पुस १९ गतेको निर्देशनालयको सूचना अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ। साथै उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रममा थप बजेट माग गर्नका लागि आउँदो माघ २३ गतेसम्ममा मन्त्रालयले प्रक्रिया अगाडि बढाउने भएको छ।
दूधको उत्पादनको आधारमा दिइने अनुदान (लिटर अनुदान)मा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गर्ने उद्देश्यले कम रकम विनियोजन गरेको र विनियोजित रकम पनि कुनै दुग्ध उत्पादक सहकारी संस्थाले प्राप्त गर्न नसक्ने गरी सूचना प्रकाशित भएको भन्दै किसानहरूले विरोध गरेका थिए।