दूधको अनुदान कटौती गर्न लागेको भन्दै कृषकहरू धर्नामा
दूधमा दिइएको अनुदान कटौती गर्न लागेको भन्दै कृषकहरू धर्नामा उत्रेका छन्।
दूधको उत्पादनको आधारमा दिइने अनुदान (लिटर अनुदान)मा बागमती प्रदेश सरकारले यस वर्ष कटौती गर्ने उद्देश्यले कम रकम विनियोजन गरेको र विनियोजित रकम पनि कुनै दुग्ध उत्पादक सहकारी संस्थाले प्राप्त गर्न नसक्ने गरी सूचना प्रकाशित भएको भन्दै विरोधस्वरूप किसानहरूले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चाइनागेटस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा धर्ना दिएका हुन्।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष हरिप्रसाद कँडेलले आज बागमती प्रदेशभित्रका सबै दुग्ध सहकारी संघको उपस्थितिमा विरोध तथा धर्ना कार्यक्रम आयोजन गरिएको बताए। कँडेलको अध्यक्षतामा विभिन्न जिल्लाका दुग्ध उत्पादक सहकारी संघका अध्यक्षहरू, दुग्ध उत्पादक सहकारी संघका पदाधिकारीहरूले दुई घन्टा धर्ना दिएका हुन्।
दुग्ध उत्पादक किसानले अनुदान पाउन सक्ने वातावरण नभएको कारण दबाब दिन बागमती प्रदेशका सबै जिल्लाका दुग्ध सहकारी संघहरूको आयोजनामा विरोध कार्यक्रम गरिएको दुग्ध सहकारी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए।
कृषकहरूले धर्ना कार्यक्रम सहित निर्देशनालयको मूलढोकामा तालाबन्दी समेत गरेका छन्। तालाबन्दीपछि सहकारीका विभिन्न पदाधिकारीहरू बागमती प्रदेशका कृषि सचिवसँग छलफलका लागि हेटौंडा-१ चौकिटोलस्थित प्रदेश कृषि मन्त्रालय पुगेका छन्।