परिस्थितिजन्य प्रमाणका आधारमा सन्दीप दोषी भएको अदालतको व्याख्या
जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछाने परिस्थितिजन्य प्रमाणका आधारमा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएको व्याख्या गरेको छ।
गत पुस २५ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर्याउँदै आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ माघ १२ गते आएको हो।
पूर्णपाठमा लामिछाने पीडित युवतीसँग नगरकोट गएको, नगरकोटबाट फर्किएपछि गौशालाको होटलमा एउटै कोठामा बास बसेको तथ्य स्विकारेको, मुलुकको प्रतिनिधित्व गरेर क्रिकेट खेल्न भोलिपल्ट विदेश जानुपर्ने खेलाडी खेल अनुशासन विपरीत ‘क्लोज क्याम्प’ छोडेर होटलमा युवतीसँग गएको, कल डिटेल रिपोर्ट (सीडीआर) प्रतिवेदनमा सन्दीपले नै बढी मात्रामा सम्पर्क गरेको देखिने जस्ता कार्यलाई अदालतले परिस्थितिजन्य प्रमाणको कसीमा जाँच्दै करणीको आशय देखिएको व्याख्या गरेको हो।
“दुई पक्षका बीच हुने करणीको कार्य गोप्यरूपमा हुने भएकाले यसलाई प्रत्यक्षरूपमा देख्ने साक्षी कोही नहुने हुँदा करणीको कार्य भए नभएको सम्बन्धमा परिस्थितिजन्य प्रमाणमा नै भर पर्नुपर्ने हुन्छ,” पूर्णपाठमा भनिएको छ।
लामिछानेको कानूनी प्रतिरक्षामा उत्रिएका वकीलहरूले भने युवती १८ वर्ष पुगिसेकाले सहमतिमै करणी भएको दाबी गरेका थिए। तर लामिछाने र गौशाला-२६ को असमान आर्थिक, सामाजिक हैसियतले यो दाबी निरर्थक देखिएको अदालतको व्याख्या छ।
लामिछाने स्वयंले समेत युवतीको आर्थिक अवस्था दयनीय रहेको भन्दै उनी आफ्नो पढाइका लागि आर्थिक सहयोग गरिदिने व्यक्तिको खोजीमा रहेको अदालतमा बयान दिएका थिए। आफूलाई समेत आर्थिक सहायताका लागि युवतीले प्रस्ताव गरेको र पछि विचार गरेर भन्ने वचन दिएको लामिछानेले अदालतमा भनेका थिए। आर्थिक सहायताको आशले युवतीले लामिछानेलाई भेटेको र त्यही वेला जबर्जस्ती करणी भएको अदालतको व्याख्या छ।
गौशाला-२६ को उमेर विवादमा भने अदालतले १८ वर्षको बालिग भनी निचोड दिएको थियो। दोषी ठहर भए पनि धरौटीमा छुटेको र १० वर्षभन्दा कम कैद सजाय तोकिएकाले सन्दीपले जेल बाहिरै बसेर माथिल्लो अदालतमा पुनरावेदन गर्ने छूट भने पाएका छन्।