‘रुख काटेर बाँदर आतंक कम हुँदैन’
बाँदर नयाँ कुरा सिक्न सिपालु प्रजाति भएकाले अहिले रुखमा बस्यो भनेर रुख काट्दा भोलि अर्को उपाय लगाएर पुनः गाउँ पस्न सक्ने विज्ञ बताउँछन्।
गाउँमा बाँदर पसेर किसानहरू आजित भएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकामा रुख काट्ने अभियानै चल्यो। बाँदर आतंक नियन्त्रणका लागि घरछेउका साना रुख काट्ने र काग आतंक नियन्त्रणका लागि ठूला रूख काट्ने निर्णय गरेर अहिले नगरपालिकाको वडा नम्बर ६, ८ र १४ मा धमाधम रुख काटिंदै छ।
तर, वालिङ नगरपालिकाको यो गतिविधिबारे नगर प्रमुख नै बेखबर छन्। वालिङका नगर प्रमुख कृष्ण खाण आफू चार दिनदेखि बिदामा भएकाले यसबारे जानकारी नभएको बताउँछन्।
यता, स्थानीय भने पालिकाको यो हर्कतले आश्चर्यमा परेका छन्। “वर्षौंको मेहनतले हुर्काएको रुख अहिले बाँदर, काग र घाम छेकियो भनेर काट्दा भोलि गर्मी हुँदा के गर्ने?,” वालिङ नगरपालिका-६ का पवमान सुवेदी भन्छन्, “के रुख काट्दैमा बाँदर र काग नआउने हुन् र?”
बाँदर आतंक नियन्त्रण गर्न रुख काट्ने अभियान वालिङमा मात्र सीमित छैन, पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले सोमबार (माघ १५ गते) एक सूचना जारी गरी प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको जनाउँदै १० दिनभित्र ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न स्थानीयलाई अपिल गरेको छ।
वडाले जारी गरेको सूचनामा आफ्नो घर वरपर रहेका सम्पूर्ण रुख कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन अनुरोध समेत गरिएको छ। तर, अहिले यस निर्णयको व्यापक आलोचना भइरहेको छ।
पोखरा महानगरपालिका-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे बाँदर आतंक नियन्त्रण गर्न रुख काट्ने आफूहरूको योजनाबारे गलत व्याख्या भएको बताउँछन्। “हामीले वन जंगल मास्ने भनेको होइन। आफ्नै खेतबारी र घर वपरका ठूला रुख र बाँसका झ्याँङ काट्ने भनिएको हो।”
यस्तै यो निर्णय वडा एक्लैको नभई बाँदर आंतकबाट पीडित किसानसँग बसेर २०/२५ जनाको समितिले पारित गरेको पनि उनी बताउँछन्।
तर, विज्ञ भने रुख काट्नु बाँदर आतंक नियन्त्रणको उपाय नभएको बताउँछन्। बाँदर विज्ञ प्राध्यापक मुकेशकुमार चालिसे स्थानीय तहहरूले समस्याको प्रभावकारी र दिगो समाधानका लागि एकीकृत ढंगमा काम नगरेसम्म बजेट सक्नकै लागि यस्ता गतिविधि भइरहने बताउँछन्।
“विगतमा पनि कहिले बन्दूक, कहिले औषधि, कहिले आवाजले बाँदर तर्साउने कुरा भए। कुनै पनि उपयोगी भएनन्,” चालिसेले भने, “झन् अहिले त रुखै काट्ने कुरा त गाइजात्रा भन्दा अर्थोक के होला र?”
जंगलमा आहाराको कमी हुने भएकाले बाँदर गाउँ पस्ने गरेको चालिसे बताउँछन्। “बाँदर पनि मान्छेको समुदाय जस्तै हो। सबै बाँदरले दुःख दिंदैन। दुःख दिने बाँदरको संख्या र कारण पत्ता लगाएपछि त्यसको निदानको उपायबारे सोच्नुपर्छ,” चालिसेले भने, “तर त्यतापट्टी कसैको ध्यान नै गएको छैन।”
बाँदर आतंक नियन्त्रण गर्न एउटा मात्र विधिले काम नगर्ने उनको तर्क छ। कुन ठाउँको बाँदरको के समस्या हो पत्ता लगाएर आहारा, वासस्थानको व्यवस्था गरी मानव-बाँदर सहअस्तित्वको वातावरण बनाउनु पर्ने उनको सुझाव छ। बाँदर नयाँ कुरा सिक्न सिपालु प्रजाति भएको र अहिले रुखमा बस्यो भनेर रुख काट्दा भोलि अर्को उपाय लगाएर पुनः गाउँ पस्न सक्नेतर्फ पनि उनी सचेत गराउँछन्।
सानातिना रोकथामको उपायले देशभर बाँदरको समस्या नियन्त्रण गर्न नसकिने र यसका लागि केन्द्रीय तहबाटै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन्।
‘बाँदर आतंक न्यूनीकरण सम्भव छ’
साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनले केही वर्षअघि तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ को सहकार्यमा बाँदर नियन्त्रणका उपायबारे अनुसन्धानात्मक कार्य गरेको थियो। फाउन्डेशनले तनहुँको प्युरीदोभान र जसपुरमा प्रयोगात्मक अध्ययन, वासस्थान व्यवस्थापनका साथै बाँदरबाट हुने आक्रमण र सुरक्षा उपाय पनि अपनाएको थियो।
यस्तै बाँदरले क्षति नपुर्याउने वैकल्पिक व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न भन्दै सामुदायिक वन तथा बाँझो खेतमा तेजपात, कागती र अम्रिसो खेती प्रवर्द्धन गर्नुका साथै १५ सयभन्दा बढी संख्यामा सिप्लिगान, अमला, जामुन, कटहर र अम्बाका बिरुवा लगाइएको थियो।
अर्कोतर्फ, फाउन्डेशनले जसपुर र प्युरीदोभानका स्थानीयसँग मिलेर बाँदर गाउँ पस्ने नाकामा आवाज निकाल्ने, हलचल गर्ने बाघको बुख्याँचा राख्ने तथा पानी प्रशस्त भएको ठाउँमा पानीका फोहरा राखेर बाँदरलाई तत्काल खेतीमा पस्न रोक्ने नमूना अध्ययन गरेको थियो।
फाउन्डेशनका अनुसन्धानकर्मी सञ्जन थापा बाँदरलाई तत्कालै नियन्त्रण गर्न नसकिने भए पनि पाँच वर्षको योजना बनाएर प्रयोगात्मक कार्ययोजना तथा कार्यक्रम अघि बढाए धेरै हदसम्म बाँदर आतंक न्यूनीकरण गर्न सकिने बताउँछन्। “विगतमा हामीले गरेको अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो,” थापाले भने।
यस्तै, वैज्ञानिक आधार विनै बाँदर आतंक कम गर्न भन्दै रुख काट्ने निर्णय वातावरणीय दृष्टिले समेत प्रत्युत्पादक रहेको थापा बताउँछन्। उनी पालिकाहरूलाई विज्ञहरूसँग सहकार्य गर्न समेत सुझाउँछन्।
“हामी पालिकाहरूसँग सहकार्य गर्न तयार छौं। थोरै स्रोत साधनमा पनि धेरै काम हुन सक्छ। उहाँहरूले साच्चै बाँदरले दिएको दुःख कम गर्न खोज्नुभएको हो कि रुख काट्ने उपाय खोज्नुभएको हो त्यो उहाँहरूले निर्णय गर्ने कुरा हो,” थापाले भने, “भोलि पछुताउनु भन्दा वेलैमा सबै निकाय गम्भीर हुन आवश्यक छ।”
याे पनि किन बुझ्ने बाँदर?