बीपी प्रतिष्ठानमा आंशिक रुपमा ओपीडी सेवा सञ्चालन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षक र कर्मचारीको आन्दोलन जारी रहे पनि ओपीडी सेवा आंशिक रुपमा सञ्चालन भएको छ।
आन्दोलनरत शिक्षक र चिकित्सक बाहेकका प्राध्यापक र जुनियर रेसिडेन्टहरुले ओपीडी सेवा आंशिक रुपमा सञ्चालन गरेका हुन्। बिरामी अप्ठ्यारोमा पर्न थालेपछि आंशिक रुपमा भए पनि ओपीडी सेवा सञ्चालन गरिएको उनीहरुले बताएका छन्।
प्राध्यापक र जुनियर रेसिडेन्ट आन्दोलनमा छैनन्। उनीहरु बाहेकका शिक्षक, नर्स र कर्मचारी बढुवाको माग गर्दै आन्दोलनमा छन्।
बिरामीको अवस्था हेरेर उपचार तथा ओपीडी सेवा नियमित गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए। चिकित्सकले आन्दोलन जारी राखेको भए पनि आंशिक रुपमा सेवा प्रवाह भइरहेको साहले बताए। केही चिकित्सक ओडीपीमा बसेको र आकस्मिक शल्यक्रिया पनि भइरहेको उनले बताए। तर नियमित भने हुन नसकेको उनको भनाइ छ।
प्रतिष्ठानको सेवा सुचारु गर्न माग गर्दै धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईको नेतृत्वमा आइतबार स्थानीय बासिन्दाले प्रदर्शन पनि गरेका थिए। प्रतिष्ठान सुधारको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको राईले बताए। आन्दोलन जारी राखे पनि बिरामीले उपचार पाउनुपर्ने उनको भनाइ छ।
बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीले सेवा बहिष्कार गरेपछि गत पुस २९ गतेदेखि नै ओपीडी सेवा प्रभावित भएको थियो। त्यस्तै, पठनपाठन पनि प्रभावित हुँदै आएको छ।