दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।
बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।
केही दिनअघि हेटौंडामा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डमा आफ्नो परिवार विरुद्ध अनर्गल प्रचार गरिएको बताएका थिए। उनले दरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आशय प्रकट गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको बताए। व्यवस्था विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने क्रियाकलाप भइरहेको उल्लेख गर्दै यस्तो अधिकार कसैलाई नभएको जिकिर गरे।
यसैगरी, जितपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग अन्तरक्रिया गर्दै दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाइने बताए। “निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्री दाहालले भने, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी-सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ।”
सेजले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्याई देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री दाहालको भनाइ थियो। -रासस