आगलागीले सेलाएको निर्मल पुर्जाको कार्यालय, नसेलाएको विवाद
घरधनीले बीमाबाट रकम बुझिसकेकाले आफूले क्षतिपूर्ति दिन नपर्ने दाबी इलाइट कम्पनीले गरिरहँदा घरधनी भने बीमाले पूरै क्षति नधान्ने भएकाले कम्पनीले पनि दिनुपर्ने अडानमा छन्।
२०७९ असोज ५ को साँझ काठमाडौंको कपनस्थित अढाईतले एक घरमा भीषण आगलागी भयो। आगो भुइँतलाबाट शुरू भएको थियो जुन ‘इलाइट हिमालयन एड्भेन्चर’ कम्पनीले भाडामा लिएको थियो।
घटनामा घर र सम्पत्ति त जल्यो नै, कम्पनीका तीन कर्मचारी संखुवासभाका अशोक राई, ताप्लेजुङका कासाङ शेर्पा र सोलुखुम्बुका छेवाङ शेर्पाले पनि ज्यान गुमाए। कम्पनीका सञ्चालक हुन्, कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा।
घटनाको क्षतिपूर्ति सम्बन्धमा कम्पनी र घरधनीबीच चर्किएको विवाद एक वर्ष चार महीना बित्दा पनि समाधान भएको छैन। उक्त घर दालामु घिसिङ र टंक घिसिङ दम्पतीको हो। उनीहरू क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेका छन्।
पुर्जाको कम्पनीले क्षतिपूर्ति नदिंदा मासिक ३० हजार रुपैयाँ तिरेर भाडामा बस्न बाध्य भएको घरधनी दालामु गुनासो गर्छिन्। उनका अनुसार घटनाका दिन उनीहरू सामान किन्न बौद्ध गएका थिए। फर्किंदा बाटोमा सवारी जाम थियो। दमकल र प्रहरी थिए। घर नजीकै पुगेपछि मात्र उनीहरूले आफ्नो घर जलेको थाहा पाए।
इलाइट कम्पनीका निर्देशक मिङ्मा ग्याबु (डेबिड) शेर्पा भने घरबेटीले बीमा कम्पनीबाट क्षतिपूर्ति लिएको विवरण लुकाएर आफूहरूलाई झुक्याउन खोजेको आरोप लगाउँछन्। उनका अनुसार घटनाका दिन निर्मल र उनी कामविशेषले मनासलु हिमाल पुगेका थिए। घटनाबारे सुनेपछि भोलिपल्टै फर्किए।
कम्पनीका सबै सामान खरानी भइसकेका थिए। कर्मचारीमध्ये कुशल बुढाथोकी मात्र जोगिएका थिए। ज्यान गुमाउनेमा मिङ्माकै भाइ कासाङ पनि थिए। काजकिरिया सकिएसँगै करीब महीना दिनपछि घरधनीले कम्पनीसँग क्षतिपूर्ति माग गरे। मिङ्माका अनुसार घरबेटीले शुरूमा पाँच करोड ८० लाख रुपैयाँ मागेका थिए, अहिले तीन करोड ५० लाख रुपैयाँसम्म झरेका छन्।
विवाद केमा?
घरधनीले बीमा कम्पनीबाट क्षतिपूर्ति पाइसकेकाले आफूहरूले दिनुनपर्ने इलाइटका निर्देशक मिङ्माको दाबी छ। घरधनी टंक भने बीमाले पूरै क्षति नसमेट्ने भएकाले कम्पनीले पनि दिनुपर्ने बताउँछन्। भन्छन्, “पहिले हामीलाई थाहा नभएकाले धेरै रकम भन्यौं होला। तर आगो पुर्जाहरूकै कारण लागेकाले उनीहरूले क्षतिपूर्ति त दिनैपर्छ।”
प्रहरीले आगलागी इलाइट कम्पनीको अक्सिजन सिलिन्डरबाट ग्यास चुहिएर भएको अनुमान गरेको छ। काठमाडौं प्रहरी परिसरसम्म पुगेको यो घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरोले समेत सघाएको थियो। ब्यूरोका तत्कालीन प्रमुख उत्तमराज सुवेदी भन्छन्, “अन्य कुनै अत्यधिक खतराजन्य विस्फोटक पदार्थका कारणभन्दा पनि अक्सिजन सिलिन्डरको ग्यास लिक भएर आगो लागेको अनुमान गरेका छौं। कसैको संलग्नतामा भएको योजनाबद्ध घटना होइन भन्ने चाहिं प्रस्ट हुन्छ।”
विवाद वडा कार्यालय हुँदै बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिसम्म पनि पुगेको थियो। मिङ्माका अनुसार न्यायिक समितिमा घरको बीमा नै नगरिएको जवाफ दिएका घरबेटीले पछि सुटुक्क रकम लिएको पाइएको थियो। “त्यसैले हामी क्षतिपूर्ति दिन बाध्य छैनौं,” उनी भन्छन्।
बूढानीलकण्ठ नगरपालिकाका कानूनी सल्लाहकार प्रकाश काफ्ले पनि समितिमा घरबेटीले कतै बीमा नगरिएको जवाफ दिएकोमा पछि बुझ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबाट २० लाख रुपैयाँ बुझेको देखिएको बताउँछन्। नगरपालिकाले बीमा प्राधिकरण मार्फत ताकेता गरेपछि इन्स्योरेन्स कम्पनीले भुक्तानी विवरण उपलब्ध गराएको थियो। तब घरधनी टंकले आफ्नो व्यक्तिगत विवरण मागेर गोपनीयतामा हस्तक्षेप गरेको भन्दै नगरपालिका विरुद्ध नै जिल्ला अदालतमा मुद्दा हालेका थिए। “त्यो मुद्दा जिल्लाले उति वेलै खारेज गरिदियो,” काफ्ले भन्छन्।
टंक वैदेशिक रोजगार सम्बन्धीे कम्पनी ‘डायमन्ड ओभरसीज सर्भिसेज प्रालि’ का सञ्चालक हुन्। यही संस्था चलाउन भन्दै प्राइम कमर्शियल ब्यांकमा घर धितो राखेर कर्जा लिएका थिए। ब्यांकहरूले कर्जा दिंदा धितो राखिएको सम्पत्तिमा क्षति पुगेर हुन सक्ने सम्भावित घाटा टार्न ऋणीबाटै अनिवार्य बीमा गराउने गरेका छन्।
टंकका अनुसार उनले दुई वर्षअघि ८० लाख रुपैयाँ कर्जा लिएका थिए। त्यस क्रममा ब्यांकले नै एक करोड १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको र त्यसै बापतको २० लाख रुपैयाँ व्यक्तिगत नभई कम्पनीको खातामा आएको उनी बताउँछन्। भन्छन्, “त्यो पैसा उही खातामा गएको होला, मैले पाएको छैन।”
बीमा कम्पनीले क्षतिको मूल्यांकनका लागि खटाएको ‘नेपाल क्लेम्स ब्यूरो’ ले आगलागीबाट उक्त घरमा ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण दिएको छ। यसैका आधारमा टंकको कम्पनीको खातामा पहिलो चरणमा २० लाख रुपैयाँ भुक्तान गरिएको सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्य बताउँछन्। उनका अनुसार ५० लाखभन्दा बढी रकम उपलब्ध गराउँदा इन्स्योेरेन्स कम्पनीको बोर्ड मीटिङबाट पास गराउनुपर्ने प्रावधान भएकाले बाँकी रकम भुक्तानीमा ढिलाइ भएको हो। “बोर्डमा कुरा पुगेको हुनुपर्छ, सर्भेयरले अन्तिम अध्ययन रिपोर्ट बुझाउन बाँकी भएकाले पनि होला,” उनी भन्छन्, “सर्भेयरले मूल्यांकन गरे बराबरको रकम जसरी पनि उपलब्ध हुन्छ।”
टंक भने आफ्नो क्षति करोडौंको रहे पनि बीमा कम्पनीले ८० लाख बराबरको मात्र मूल्यांकन गरेकामा रुष्ट छन्। न्यायिक समितिको फैसला आफ्नो पक्षमा नहुने देखेपछि टंक दम्पती क्षतिपूर्तिको मुद्दा लिएर गत वैशाखमा फेरि जिल्ला अदालत गएका छन्। अदालतले फैसला नहुन्जेल इलाइट कम्पनीको ब्यांक खाता र सञ्चालकको जग्गा रोक्का गरिदिएको छ। इलाइटका निर्देशक मिङ्मा खाता रोक्का हुँदा र अदालत धाउनुपर्दा वर्ष दिनदेखि कम्पनीको व्यवसाय ठप्प रहेको बताउँछन्। भन्छन्, “चाँडै मुद्दा सकिए व्यावसायिक जीवनमा फर्कने थियौं, आखिर हामीले पनि आफन्तसँगै सम्पत्ति गुमाएका छौं।”
घरधनी टंकका अनुसार आगलागीबाट भएको क्षतिको मूल्यांकन गर्न अदालतले पनि आगामी माघ २३ गते टोली खटाउँदै छ। “अब सर्वेक्षण टोलीले कस्तो अध्ययन गर्छ, प्रतीक्षामा छौं। कम्तीमा घर त जस्ताको त्यस्तै बनाइदिनै पर्छ,” उनी भन्छन्।
२०७६ मंसीर १ गते गरिएको घरबहाल सम्झौतामा भाडामा बसुन्जेल कम्पनीका तर्फबाट कुनै क्षति भए त्यसको भर्पाई कम्पनीले नै गरिदिनुपर्ने उल्लेख छ। तर देवानी संहिता अनुसार कुनै पनि क्षतिमा दोहोरो भर्पाई नहुने वरिष्ठ अधिवक्ता मेघराज पोखरेल बताउँछन्। “घरबेटीसँग अनेक सम्झौता भए पनि क्षतिपूर्ति बापत बीमाको रकम लिइसकेको छ भने फेरि अर्कोतिरबाट पाइँदैन,” उनी भन्छन्।