जितेन्द्रको उत्कृष्ट बलिङमा आर्मीको जित
जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबले महत्त्वपूर्ण जित हासिल गरेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको हो। आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम ४०.१ ओभरमा १६५ रनमै समेटियो।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ६८ र शेर मल्लले २४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
आर्मीका लागि जितेन्द्र मुखियाले पाँच विकेट लिए। उनले ६.१ ओभरमा दुई मेडन राख्दै १० रन मात्रै खर्चिए। त्यस्तै, सोमपाल कामीले दुई, शहाब आलम, कुशल मल्ल र वसीर अहमदले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आर्मी क्लबले ४८.३ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो। आर्मीका लागि कुशल मल्लले ७५, सन्दीप रजालीले ३७, वसीर अहमदले ३६, सोमपाल कामीले ३१ र सन्तोष कार्कीले ३० रन बनाए।
सुदूरपश्चिमका लागि भोजराज भट्टले ६ विकेट लिए। उनले ९.३ ओभरमा एक मेडन राखेर ६३ रन खर्चिए। त्यस्तै, नरेन साउदले तीन र विकास आग्रीले एक विकेट लिए।
यो जितसँगै आर्मी क्लबको १२ अंक पुगेको छ। बागमती र मधेशको समान १२ अंक भए पनि रनरेटका आधारमा आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले अब एक खेल खेल्न बाँकी छ।
यसअघि नेपाल प्रहरी क्लब गण्डकीलाई हराउँदै फाइनलमा पुगिसकेको छ। बागमती र मधेशले सबै खेल खेलिसकेका छन् भने सुदूरपश्चिम र एपीएफका दुई-दुई खेल बाँकी छन्।
मंगलबार सुदूरपश्चिम र एपीएफ प्रतिस्पर्धा गर्नेछन्। हार्ने टोली फाइनलको दौडबाट बाहिरिनेछ।