फेरि काठमाडौं पैदल मार्च गर्दै मिटरब्याज पीडित
मिटरब्याज पीडितले न्यायका लागि फेरि काठमाडौंसम्म पैदल मार्च गर्न लागेका छन्।
उनीहरूले माघ १६ मा झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च गर्न लागेका हुन्। सोमबार झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन गरी पैदल मार्च गर्न लागेको बताएका छन्।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समिति, नेपालका अध्यक्ष अवधेश कुसवाहाले फेरि पैदल मार्च गर्नुपर्ने बाध्यता आएको बताए। “हाम्रा कुरा राज्यले सुनेन, आयोगले काम गरेन,” अध्यक्ष कुसवाहाले भने, “त्यसैले राज्यलाई देखाउन, सुनाउन हिंडेर फेरि शान्तिवाटिका पुग्छौं।”
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट मिटरब्याज पीडितले एकसाथ पैदल मार्च शुरू गर्दै छन्। दुवैतर्फको टोली चितवनबाट संयुक्त रूपमा काठमाडौं छिर्ने कार्यक्रम रहेको कुसवाहाले बताए। झापा र कञ्चनपुरबाट हिंडेका मिटरब्याज पीडित १५ दिनपछि काठमाडौं पुग्नेछन्।
यसअघि पनि मिटरब्याज पीडित पैदल काठमाडौं पुगेका थिए। उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो। आयोगले छानबिन पनि गरिसकेको छ।
त्यसपछि न्यायका लागि सरकारले पहल नगरेकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।