७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो आयोजना निर्माणसम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माणसम्पन्न भएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरि खोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि सुरुङमा पानी हालेर परीक्षण गरिने जानकारी दिए। बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकिएपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहबरमा परीक्षणको तयारी गरिएको हो।
छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो। छोटेपादेखि दोबिल्नामा रहेको विद्युत्गृहसम्म चार हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ।
यस्तै, नीलगिरि पहिलोको हुम खोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ। नीलगिरि पहिलोको करीब ८० प्रतिशत भौतिक प्रगति भएको छ। दुवै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ। नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो।
१३ अर्ब रुपैयाँको लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ रिभर’ प्रकृतिका हुन्। नीलगिरि खोलाबाट उत्पादित बिजुली २२० केभी क्षमताको दाना सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिन्छ। छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन पनि निर्माण भएको छ।
नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दी खोला र ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण भएको थियो। ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छ। ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ।
कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमै बनाउन प्रस्ताव गरिएको छ। मिस्त्री खोलाको प्रवर्द्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्त्री खोला-२ आयोजना निर्माण गर्दै छ।