जसले त्रिभुवनलाई जोगाउन आफूले दोष लिए
श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय दिने र सर्वस्वहरण गर्ने, चन्द्रमानलाई जन्मकैद र सर्वस्वहरण गर्ने।
मेरो चिता त्यो ठाउँमा बनोस्, जहाँ गंगालाल र दशरथ चन्दलाई गोली हानी मारियो।
चन्द्रमान सैंजू जिउँदो छँदा त शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सम्झिरहन्थे नै, मृत्युपछि पनि उनीहरूसँग नजीक हुन चाहन्थे। झन् युवावस्थामा त उनीहरूसँगै दुःखसुख बाँडचुँड गरे। सँगसँगै यातना पनि सहे।
१९९७ सालमा चार जनासँगै उनलाई पनि मृत्युदण्ड दिन खोजिएको थियो। तर उनले जुद्धशमशेरलाई मार्ने योजनाबारे साँचो कुरा बोलेको भनेर जोगाइयो। उनले राजा त्रिभुवनलाई जोगाउन सबै दोष आफ्नै टाउकोमा लिएका थिए।
चन्द्रमान पेशाले स्वास्थ्यकर्मी थिए। उनी स्वास्थ्य संस्थामा रहेर बिरामीको उपचार र स्वास्थ्य सल्लाह दिने विषयमा मात्र सीमित रहेनन्। आफ्नो घोषित पेशागत सीमा तोडेर राजनीतिक र सामाजिक परिवर्तनको अभियानमा पनि होमिए।
उनका बुबा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने वैद्य थिए। पुर्ख्यौली थलो भक्तपुर भए पनि उनको परिवार काठमाडौंको क्षेत्रपाटी बसाइँ सरेको थियो।
चन्द्रमानले बुबाबाट परम्परागत चिकित्सा पद्धति त सिकेका थिए नै, आधुनिक चिकित्सा पद्धतिबारे पनि जानकार थिए। यसै कारण राजा त्रिभुवनको स्वास्थ्य सहायक (कम्पाउन्डर) बन्ने मौका पाएका थिए।
जहानियाँ निरंकुश राणाशासनमा जनता मात्र होइन, राजा पनि राणाको अत्याचारमा परेका थिए। त्यही क्रममा १९९३ जेठ २० मा टंकप्रसाद आचार्यको नेतृत्वमा दशरथ चन्द, रामहरि शर्मा, धर्मभक्त माथेमा र जीवराज शर्मा मिलेर नेपाल प्रजा परिषद् स्थापना गरे। त्यसको छैटौं सदस्य थिए- कम्पाउन्डर चन्द्रमान।
त्यति वेला चन्द्रमान प्रजा परिषद् र राजा त्रिभुवनबीचको सम्पर्क–सेतु बनेका थिए। यससँगै उनी सबै प्रकारको शोषण अन्त्य गर्ने, मौलिक हकअधिकार स्थापना गर्ने, वर्गहीन समाज स्थापना गर्ने र श्री ५ को वैधानिक नायकत्वमा प्रजातान्त्रिक सरकार गठन गर्ने उद्देश्यमा सहमत भई शोभाभगवतीको सामुन्ने भद्रमतीको जल छोएर कसम खाई राणाविरोधी अभियानमा लागेका थिए।
१९९३ भदौमा राजा त्रिभुवन र चन्द्रमान सहितका युवाबीच अति गोप्य सहमति बन्यो। त्रिभुवनको नेतृत्वमा तत्कालीन युवराज महेन्द्र र कम्पाउन्डर चन्द्रमान सहित १० जनाको सहभागितामा गुह्येश्वरी र पशुपतिलाई साक्षी राखेर धर्म भकाई ‘रक्तपात मण्डल’ गठन गरिएको थियो। यसमा रहेका व्यक्तिलाई तालीम दिएर शस्त्रसज्जित दल बनाइएको थियो।
यसको उद्देश्य सत्ता हातमा लिने थियो। त्यसका लागि कोतपर्वमा जस्तै नारायणहिटीको भोजमा प्रधानमन्त्री जुद्धशमशेर लगायतलाई बोलाई हत्या गर्ने योजना थियो तर सफल हुन सकेन। बरु यो योजनाको पोल खुल्यो।
त्यसमा सोधखोज भयो। चन्द्रमानलाई पनि शंका गरियो। १९९७ कात्तिक ४ मा चन्द्रमानलाई गिरफ्तार गरेर हाल रेडियो नेपाल रहेको बंगलामा राखियो।
उनलाई बाँसमा झुन्ड्याएर कोर्रा प्रहार गर्दै बयान लिइयो। चरम यातनाका कारण चन्द्रमानले त्यस योजनाको दोष आफूले लिए। राजा त्रिभुवन लगायतका विषयमा मुख खोलेनन्।
त्यसपछि श्री ३ को आदेशमा सुब्बाले फैसला सुनाए- दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई ज्यान सजाय दिने र सर्वस्वहरण गर्ने, चन्द्रमानलाई जन्मकैद र सर्वस्वहरण गर्ने।
उनका सहकर्मी रामहरि शर्माका अनुसार चन्द्रमानलाई पकनाजोल, सल्लाघारीमा झुन्ड्याएर मृत्युदण्ड दिने निर्णय भएको थियो तर गोप्य राखिएको थियो। नारायणहिटी योजनाबारे साँचो कुरा बोलेकाले चन्द्रमान मृत्युदण्डको सजायबाट मुक्त भएका थिए। तर जन्मकैद र सर्वस्वहरणको सजाय तोकियो। सर्वस्वहरणको अर्थ अगेनाको खरानी समेत नराखी सबै सम्पत्ति हरण गरिनु थियो।
जेलभित्र रहँदा गणेशमान सिंहसँग उनको योजना मिल्यो, जेल तोडी बाहिर निस्किने। गणेशमान जेलको पर्खाल नाघेर बाहिर निस्के। तर मोटो शरीरका चन्द्रमानले अंकुशेको सहायताले पर्खाल नाघ्न सकेनन् र भुइँमा पछारिए। त्यसपछि उनलाई समातेर हातगोडामा नेल, गलामा सिक्री लगाइदिई गोलघरमा राखियो।
जेलमा बसेकै स्थानमा दिसापिसाब गराइन्थ्यो। कमसेकम दिसापिसाब अलग स्थानमा गर्न पाऊँ भनेर चन्द्रमान अनशन बसे। आठौं दिनमा उनको माग सुनुवाइ भयो।
चन्द्रमानका समकालीन शर्मा राजा त्रिभुवनबाट नेपाल प्रजा परिषद्का लागि आर्थिक सहयोग दिलाउन चन्द्रमानले भूमिका निर्वाह गरेको बताउँछन्। चन्द्रमानले यातना सहेर पनि प्रजा परिषद्मा राजा त्रिभुवनको संलग्नताको भेद नखोलेको र भद्रगोल जेलबाट गणेशमानलाई भगाउन सहयोग गरेको शर्माले उल्लेख गरेका छन्।
यसरी चन्द्रमानले नेपालको राजनीतिक परिवर्तनका लागि ज्यानको पर्वाह नगरी काम गरे। उनले जीवनको उत्तरार्द्धमा केही सम्मान, विभूषण र सहायता पनि प्राप्त गरेका थिए। दमको व्यथाको कारण ७८ वर्षको उमेरमा २०४० चैत १६ गते वीर अस्पतालमा अन्तिम सास लिए।
अन्तिम सास लिनुअघि चन्द्रमानले एउटा इच्छा सुनाएका थिए, ‘मेरो चिता त्यो ठाउँमा बनोस्, जहाँ गंगालाल र दशरथ चन्दलाई गोली हानी मारियो।’
अहिले शहीद सप्ताह चलिरहेको छ। सबैले शहीदको स्मरण गरिरहेका छन्। वीर योद्धा चन्द्रमान सैंजूलाई श्रद्धाञ्जली!