उद्योगमा बेरोजगारलाई तालीम र रोजगारी दिने गर्ने कार्यक्रम शुरू
निजी क्षेत्र र नेपाल सरकारको सहकार्यमा बेरोजगारलाई तालीम दिएर रोजगार बनाउने नयाँ अभियानको शुरूआत भएको छ।
यस अनुसार देशभरिबाट एक हजार ६६३ जना प्रशिक्षार्थी कामदार छनोट गरी तालीम दिएर उनीहरूलाई उद्योगमा कम्तीमा डेढ वर्ष रोजगारी सुनिश्चित गरिनेछ। यस सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ।
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिशिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ वटा उद्योगबीच त्रिपक्षीय सम्झौता भएको हो। सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
एप्रेन्टिशिप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगमा लिटमस इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण शूज म्यानुफ्याक्चरर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन शूज इन्डस्ट्रिज छन्। सम्झौता अनुसार यी उद्योगले कुल एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षण दिएर कम्तीमा १८ महीनाको रोजगारी प्रदान गर्नेछन्। प्रशिक्षार्थी कामदारको अधिकतम तीन महीनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्नेछ।
सम्झौता कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, उद्योगसचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल तथा विभिन्न उद्योगी र नेपाल सरकारका उच्च अधिकृतको उपस्थिति थियो। मन्त्री रिजालले कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले चालू आर्थिक वर्षका लागि नौ वटा उद्योगले दुई हजार १०० प्रशिक्षार्थीका लागि परिसंघ मार्फत आवेदन दिएको जानकारी दिए। उनले पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ वटा उद्योगसँग मात्र यस कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता हुन सकेको र अन्य उद्योगहरू इच्छुक हुँदाहुँदै पनि सहभागी गराउन नसक्दा एक हजार ६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत घिमिरेले दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।
पछिल्ला वर्षमा युवा जनशक्तिको प्राथमिकता वैदेशिक रोजगारी भएकाले देशभित्रका उद्योगले दक्ष जनशक्ति अभाव खेप्दै आएको उद्योगीहरूले बताउने गरेका छन्। त्यही अभावलाई पूर्ति गर्न र देशभित्र रोजगारीको अवसर सिर्जना गर्न केन्द्रले उद्योगहरूसँगको सहकार्यमा युवालाई निःशुल्क तालीम दिएर सुनिश्चित रोजगारी दिने कार्यक्रम अघि सारेको हो।