नेपालमा हुँदै वैकल्पिक विश्वको बहस
वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम)’ को १६औं संस्करण काठमाडौंमा हुँदै छ।
आउँदो फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा वैकल्पिक विश्वबारे बहस हुने मञ्चले जनाएको छ। त्यसअघि मञ्चसम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुने विश्व सामाजिक मञ्च २०२४, नेपाल आयोजक समितिले जनाएको छ। २०७९ चैत २ गते सम्पन्न मञ्चको अन्तर्राष्ट्रिय परिषद्को बैठकले नेपालमा १६औं संस्करण आयोजना गर्ने निर्णय गरेको थियो।
वर्तमान विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचार निर्माण गर्न विश्व सामाजिक मञ्च शुरू भएको हो। सन् २००१ मा ब्राजिलको पोर्ते एलेग्रेमा पहिलो पटक आयोजना गरिएको यस मञ्चलाई विश्व आर्थिक मञ्चको जवाफका रूपमा पनि लिने गरिन्छ। खासगरी नवउदारवादी नीतिहरूको आलोचना गर्ने यस मञ्चले सामाजिक न्याय, मानव अधिकार, समानता, प्रकृति संरक्षण जस्ता विषयमा बहस एवं दबाब सिर्जना गर्दै आएको छ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तीकृत समुदायलाई समेटेको छ।
नेपालमा हुने १६औं संस्करणको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। त्यही दिनबाट विभिन्न शीर्षकमा छलफल हुने जनाइएको छ।
भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा सार्वजनिक कार्यक्रम र प्रदर्शनी आयोजना हुनेछ भने नेपाल पर्यटन बोर्डको सभाहल, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मीकि क्याम्पस र पद्मकन्या क्याम्पसमा विभिन्न सत्र चल्नेछन्।
आर्थिक असमानता, श्रम आप्रवासन, विभिन्न किसिमका भेदभाव, लैंगिकता, कृषि, शान्ति, लोकतन्त्र लगायत १३ वटा मुख्य विषयमा केन्द्रित हुने सामाजिक मञ्चको १६औं सत्रमा करीब २५० वटा कार्यक्रम हुने आयोजक समितिले जनाएको छ।