२३ करोडमा चिया अनुसन्धान केन्द्र बन्यो, सञ्चालनको टुंगो छैन
आवश्यक जनशक्तिको प्रबन्ध र प्रयोगशाला जडान नहुँदा देशकै पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र सञ्चालनको टुंगो लागेको छैन।
२३ करोड रुपैयाँको लागतमा इलामको सूर्योदय नगरपालिका-८ स्थित कन्याममा स्थापित केन्द्र नगरको ‘गौरवको आयोजना’ समेत हो। नगरपालिकाका उपमेयर दुर्गाकुमार बरालका अनुसार प्रदेश सरकारको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लगानीमा केन्द्रको भवन बनेको हो।
तर केन्द्र सञ्चालनको टुंगो नलाग्दा चियाको विषादी तथा गुणस्तर परीक्षण गर्न भारत पठाउने गरिएको छ। यसका लागि चिया किसानले खर्च पनि धेरै गर्नुपर्ने र रिपोर्ट आउन पनि निकै समय लाग्ने गरेको छ।
“चिया निर्यातका क्रममा भारतले नेपाली चियाको विषादी तथा गुणस्तर परीक्षण गर्न समय लगाइदिने, परीक्षणमा नेपाली चियामा विषादीको मात्रा यथार्थभन्दा बढी देखाइदिने जस्ता समस्या छन्,” चिया व्यवसायी खगराज घिमिरे भन्छन्।
घिमिरेका अनुसार केन्द्रले यी समस्या समाधान गर्न सके चिया निर्यात त सहज हुनेछ नै, किसानहरूको लाखौंको लगानी पनि सुरक्षित भई देशले समेत आर्थिक उपार्जन गर्न सक्छ। सूर्योदय नगरपालिकाका उपमेयर बराल आवश्यक जनशक्तिको व्यवस्थापन हुनासाथ प्रयोगशालाको काम अघि बढ्ने र आफूहरू तीन-चार महीनाभित्र केन्द्र सञ्चालन गर्ने हिसाबले अघि बढेको बताउँछन्।
नेपालमा उत्पादित अर्थोडक्स चिया निर्यात गर्न विदेशी खरीदकर्ता बोलाई चिया चखाउने (‘टी टेस्टिङ’ केन्द्रका रूपमा) र लिलाम बढाबढ गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो। “केन्द्रमा चियाको मिनिअक्शन गरी विदेशीलाई चिया खरीदका लागि सोझै ल्याउनुका साथै चिया रोप्ने, उत्पादनदेखि चियाको पात, जरासम्मको अध्ययन गरिने योजना छ,” बराल भन्छन्।
टी टेस्टिङ सहितको अनुसन्धान केन्द्रमा चिया संग्रहालय, चिया बिक्री कक्ष, गेस्ट हाउस र सभा हल पनि रहने बराल जनाउँछन्। नेपालमा चियाखेती शुरू भएको १६० वर्ष र व्यावसायिक चियाखेती शुरू भएको ६० वर्षपछि देशकै पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र स्थापना भएको हो।
जनशक्ति जुटाउँदै नगरपालिका
केन्द्रको प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति जुटाउन अहिले नगरपालिकाले पहल गरिरहेको छ। नगरपालिकाले आवश्यक प्राविधिक सहयोगका लागि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लखेको थियो।
मन्त्रालयले ‘सहकार्य र समन्वयका लागि’ राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा पठाइदियो। “मन्त्रालयबाट सहयोग र समन्वयका लागि तोक आदेश सहित पत्र आएको छ,” बोर्डका प्रवक्ता दीपक खनाल भन्छन्, “उहाँहरूको आवश्यकता अनुसार हामीले के कसरी सहयोग गर्न सकिन्छ, हामी गर्छौं।”
चिया प्रवर्द्धनका लागि सरकारले २०५० सालमा ऐन मार्फत गठन गरेको बोर्ड मातहत नेपालमा १८ जना चियाविज्ञ विभिन्न जिल्लामा कार्यरत छन्।
चियाखेतीमा आधुनिकता भित्रिने आश
इलामका चिया व्यवसायी महेश अर्याल केन्द्रको स्थापनाले चियाको नेपाली जात निर्धारण गर्न समेत सहयोग पुग्ने बताउँछन्। चिया व्यवसायी घिमिर पनि कन्याममा स्थापित केन्द्रले चियामा लाग्ने रोगको वेलैमा पहिचान गर्न सक्ने आशा व्यक्त गर्छन्। “गाउँमै चिया प्राविधिक उत्पादन गर्न नसकेसम्म उत्पादन प्रभावकारी हुन सक्दैन। केन्द्रले त्यो लक्ष्य पनि राख्नुपर्छ,” घिमिरे भन्छन्।
हालसम्म इलाममा उत्पादित चिया परम्परागत शैलीमै टिपिने गरिएको छ भने चियाको प्रशोधन पनि परम्परागत रूपमै हुँदै आएको छ। अनुसन्धान केन्द्रले चिया प्रशोधनमा आधुनिक प्रविधिलाई पनि बढावा दिनुपर्ने उनले बताउँछन्।
नेपालका ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ। सबै प्रकार गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलोग्राम चिया उत्पादन हुने बोर्डको अनुमान छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा एक करोड ६५ लाख किलोग्राम सीटीसी र अर्थोडक्स चिया निर्यात बापत करीब चार अर्ब रुपैयाँ आम्दानी गरेको थियो। नेपालमा उत्पादित सीटीसी र अर्थोडक्स चियाको ठूलो बजार भारत हो। “भारतले नेपाली चिया सस्तो मूल्यमा खरीद गरेर लैजाने र विश्वबजारमा महँगो मूल्यमा बिक्री गरिरहेको सन्दर्भमा यस अनुसन्धान केन्द्र मार्फत नेपाली चियाले अन्तर्राष्ट्रिय बजारबाट राम्रो मूल्य लिन सक्नेछ,” बोर्डका प्रवक्ता खनाल भन्छन्।