भाजपासँग गठबन्धन बनाउन बिहारका मुख्यमन्त्री नीतीशले दिए राजीनामा
भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्।
बिहारका गभर्नर राजेन्द्र अर्लेकर समक्ष आइतबार राजीनामा बुझाएका हुन्। जनता दलका नेता नीतीशले राष्ट्रिय जनता दलसँगको गठबन्धन तोडेर भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर सरकार बनाउने भएका छन्।
उनको यो राजीनामाले भारतीय राष्ट्रिय कांग्रेस सहित २८ वटा विपक्षी दलले भाजपा विरुद्ध बनाएको गठबन्धन ‘इन्डियन न्याशनल डेभलपमेन्टल इन्कुल्सिभ अलायन्स (इन्डिया)’ लाई पनि प्रभावित पार्ने देखिन्छ।
“हामी पछिल्लो डेढ वर्षदेखि इन्डिया गठबन्धनका लागि मेहनत गरिरहेका थियौं तर सोचे जस्तो भइरहेको थिएन। अब हामी नयाँ गठबन्धन बनाउनेछौं,” राजीनामा दिएपछि नीतीशले भनेका छन्।
अहिले बिहारको विधान सभामा सबैभन्दा ठूलो दल लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) हो, जसको ७९ सीट छ। तर एकल सरकार बनाउन आवश्यक बहुमत (१२२ सीट) आरजेडीसँग छैन। ७८ सीट भएको भाजपा दोस्रो दल हो भने नीतीश नेतृत्वको जनता दलसँग ४५ सीट छ। नीतीशले भाजपा र अन्य साना दलसँग मिलेर सरकार बनाउन लागेका छन्।
इन्डिया गठबन्धनका नेताहरूले नीतीशको यो निर्णयको आलोचना गरेका छन्। “अयोध्यामा राम छन्, अनि बिहारमा पल्टुराम। लालु यादवसँग गठबन्धन बनाउँदा भाजपा र अमित शाहले नै नीतीशलाई पल्टुराम भनेका थिए। शाहले नीतीशका लागि भाजपाको ढोका बन्द भयो भनेका थिए। अहिले चाहिं के भयो त? भाजपाका मानिसहरू झन् ठूला पल्टुराम हुन्,” शिव सेनाका प्रवक्ता सञ्जय राउतले टिप्पणी गरेका छन्।
त्यस्तै, भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भनेका छन्, “हाम्रो देशमा ‘आया राम गया राम’ जस्ता मानिस प्रशस्त छन्।” उनले आफूलाई नीतीशले गठबन्धन त्याग्न थालेको पहिले नै थाहा भएको तर गठबन्धन जोगाउनकै लागि केही नभनेको बताएका छन्।
(द वायरको सहयोगमा)