पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति
इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको छ।
एनसेल मुख्यालयमा आयोजित कार्यक्रममा संस्थानका डीन प्रा.डा. शशीधरराज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका हुन्। त्यस्तै, एनसेलका चीफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चीफ कमर्शियल अफिसर उमेर मोहसिन र एक्टिङ चीफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका छन्।
एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान १० वर्षदेखि प्रदान गरिंदै आएको छ। यस कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनीयरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ।
यस वर्ष १८ जना विद्यार्थीलाई छात्रवृत्ति र पाँचै संकायबाट स्नातक उतीर्ण ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ छ।