गीलु रातोसको ‘सिलीदुङ’ माथि पोखरामा विमर्श
युवा कवि गणेशबहादुर राई अर्थात गीलु रातोसको पहिलो पुस्तक सिलीदुङ माथि पोखरामा विमर्श गरिएको छ।
र्यान्डम रीडर्स सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागका प्रमुख राजन मुकारुङले कवि गीलु रातोसले कविता मार्फत पहिचानको मुद्दा ल्याएको बताए। नेपालको कानून असमावेशी रहेको भन्दै मुकारुङले पहिचानको मुद्दा भनेको समावेशी नेपाल बनाउनु रहेको बताए।
उनले मातृभाषाको संरक्षण र प्रवर्द्धन भनेको कुनै एक जातिको मात्र भए जसरी सरकारले व्यवहार गर्ने गरेको जिकिर गरे। लेखक मुकारुङले भने, “पहिचानको आन्दोलनमा होमिएकाले समाज बिथोल्ने भाष्य निर्माण भइरहेको छ।’
लेखक गौरी तमूले कवि गीलु रातोसको सिलीदुङ नेपाली भाषाको कविता संग्रह भए पनि आफ्नो मातृभाषाका शब्दलाई जस्ताको तस्तै राखेकाले मौलिक रहेको सुनाइन्। मातृभाषाको प्रयोग र संरचना नै आदिवासी सौन्दर्य रहेको भन्दै यसको संरक्षण आदिवासी समुदायले पनि गर्नुपर्नेमा तमूले जोड दिइन्।
कवि गीलु रातोसले सोलखुम्बुबाट माओवादी सशस्त्र संघर्षमा होमिएको र त्यसक्रममा देखिएका सपना, आक्रोशलाई कवितामा उतारेको सुनाए। थेबा-ला प्रकाशनले बजारमा ल्याएको सिलीदुङमा ४२ कविता समावेश छन्।