दाहालको दुखेसो : जनयुद्धको अपमान गर्दा पनि टुलुटुलु हेरेर बस्ने भएका छौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेआम ‘जनयुद्ध’ को अपमान गर्दा पनि टुलुटुलु हेरेर बस्नुपरिरहेको दुखेसो गरेका छन्।
शनिबार शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ‘जनयुद्ध’ को अपमान गर्दा प्रतिवाद गर्न नसकेको भन्दै माओवादी नेता तथा कार्यकर्ताप्रति गुनासो गरे। “जनयुद्ध, शहीद, बेपत्ता योद्धाप्रति घोर प्रतिक्रियावादी, प्रतिगामी, तानाशाह, षड्यन्त्रकारीले खुलेआमा गालीगलौज, अपमान गर्दा पनि हामी टुलुटुलु हेरेर बस्ने भएका छौं,” दाहालले भने।
माओवादी एकजुट नहुँदा सबैले हेप्ने अवस्था आएको उनको भनाइ थियो। “आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दै छन्? १७ हजार भन्ने भाषा यति झूट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ। तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौं,” दाहालले भने।
केही दिनअघि ‘१७ हजार प्लस २’ भनेर प्रचार गर्दा पनि नेता तथा कार्यकर्ताले प्रतिकार नगरेकोमा उनले चिन्ता जनाए। “१७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ। तर हामीले प्रतिवाद नगर्ने? कोही नलेख्ने, कोही नबोल्ने? कस्ता भयौं त हामी?,” दाहालले प्रश्न गरे, “हिजो भए हामी सहन्थ्यौं त? के गर्थ्यौं? कस्तो प्रतिवाद गर्थ्यौं?”
माओवादीलाई हत्यारा भनेर हिंड्दा पनि प्रतिवाद गर्न नसकेको उनको भनाइ थियो। “हाम्रा महान् शहीदको अपमान सहन सक्दैनौं भनेर मुठी उठाएर बोल्न किन आँट आएन? किन जोश आएन? हाम्रा १० हजार राष्ट्रिय महान् शहीद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ?” उनले भने, “हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिंडिरहेका छन्। हामी उनीहरूलाई तिमीहरू हत्यारा हौं भन्न नसक्ने।”
उनले देशभरका माओवादी एकजुट हुनुपर्नेमा जोड दिए। दाहालले भने, “देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपील गर्दछु।” विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो।