भुवनको ‘अल-राउन्ड’ प्रदर्शनमा एपीएफलाई महत्त्वपूर्ण जित
भुवन कार्कीको ‘अल-राउन्ड’ प्रदर्शनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले महत्त्वपूर्ण जित हासिल गरेको छ।
ब्याटिङ चल्न नसकेको गण्डकी प्रदेशसँगको खेलमा एपीएफलाई बलरले जोगाएका हुन्। यो जितसँगै एपीएफको फाइनल पुग्ने सम्भावना जीवितै छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८८ रनले पराजित गरेको छ। एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३४.४ ओभरमा ११९ रनमै समेटियो।
दुई विकेटको क्षतिमा ८६ रन बनाएको गण्डकीले त्यसपछिका ३३ रनमा बनाउने क्रममा आठ विकेट गुमाउन पुग्यो। प्रारम्भिक ब्याटरद्वय समीर कँडेलले ३३ र ईश्वर क्षेत्रीले २८ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन।
एपीएफका लागि अमर रौटेलाले चार, मौसम ढकालले तीन, भुवन कार्कीले दुई र रमेश कुर्मीले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनाएको थियो। एपीएफका लागि लोकेश बमले ५०, भुवन कार्कीले ४५, प्रदीप ऐरीले ३९ र पुरन विकले ३० रन बनाए।
गण्डकीका लागि कमल परियारले तीन, विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले दुई-दुई विकेट लिए। यसअघि नै गण्डकी फाइनलको दौडबाट बाहिरिइसकेको छ।
यो जितसँगै एपीएफले आठ अंक जोडेको छ। बाँकी दुई खेल जित्न सके एपीएफको पनि १२ अंक हुनेछ। रनरेट राम्रो भएकाले फाइनलको सम्भावना रहनेछ।
अहिले शीर्षस्थानमा रहेका नेपाल प्रहरी क्लब र बागमती प्रदेशको समान १२ अंक छ। प्रहरी क्लबले अझै तीन खेल खेल्न बाँकी छ भने बागमतीले नौ वटै खेल खेलिसकेको छ।