अर्थतन्त्र सुधार हुँदै छ, उपभोक्ताको आत्मविश्वास बढाऔं : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भइरहेको बताउँदै उद्योगी-व्यवसायी र उपभोक्ताको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल मार्केटिङ एशोसिएशनले शनिबार आयोजना गरेको एनएमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। “देशको अर्थतन्त्र समस्यामा थियो, बिस्तारै सुधार हुँदै छ,” उनले भने, “हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं। अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ।”
अब आर्थिक गतिविधि पनि बढ्ने उनको भनाइ थियो। “हाम्रा आर्थिक सूचकांक सकारात्मक छन्। मूल्यवृद्धि नियन्त्रणमा छ। ब्याजदर घटिरहेको छ। शेयर बजारमा सुधार भइरहेको छ। आर्थिक गतिविधि पनि बिस्तारै चलायमान् बन्दै गएका छन्,” उनले भने।
अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान् हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको आत्मविश्वास घटेको उनको भनाइ थियो। अब सबै मिलेर आत्मविश्वास बढाउनुपर्नेमा उनले जोड दिए।
“अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने हो। त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ। अहिलेसम्म धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर बन्यो,” अर्थमन्त्री महतले भने, “सकारात्मक सन्देश प्रवाहसँगै व्यापार-व्यवसायमा आत्मविश्वास बढ्छ। उपभोक्ताको आत्मविश्वास बढ्छ। उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार-व्यवसाय बढ्ने हो। व्यापार-व्यवसायमा चहलपहल हुने बित्तिकै लगानी वृद्धि हुन्छ। यसले आर्थिक गतिविधि बढाउँछ।”
नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो। वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले औंल्याए। “नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ। उपभोक्ताले जहिले पनि अरूभन्दा फरक रुचाउँछन्,” महतले भने, “नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो।”