सुपारीमा फुलेको गाउँको समृद्धि
चार दशकअघि सुन्दरताका लागि रोप्न शुरू गरिएको सुपारीले अहिले भने गाउँलाई पहिचान मात्रै दिएको छैन, समृद्ध पनि बनाएको छ।
सिमसारको बाटो हुँदै झापाको अर्जुनधारा नगरपालिका-१ बाट उत्तरतिर लाग्दा घना जंगल भेटिन्छ। आधा घन्टा जंगल छिचोल्दै उकालो चढेपछि सुपारीका बोट र त्यसमै मिसमास गरिए जस्ता केराका घरा भेटिन्छन्।
जहाँबाट सुपारीका बोट देखिन्छन्, त्यहींबाट इलामको रोङ गाउँपालिका-२ स्थित बरफल्याङ गाउँको सीमा शुरू हुन्छ। वा, यसो भनौं- बरफल्याङ गाउँ आइपुग्यो भन्ने पहिचान नै अग्ला अग्ला सुपारीका बोट हुन्। बरफल्याङमा त्यस्तो कुनै घर छैन, जुन घरमा सुपारीको बगान नहोस्। “गाउँको पहिचान नै सुपारी बनेको छ,” सुपारी किसान ७६ वर्षीय लेखबहादुर लामिछाने भन्छन्।
लामिछानेले ४० वर्षअघि बरफल्याङमा घरआँगन सजाउन सुपारी रोपेका थिए। गाउँमा पहिलो पटक सुपारी ल्याएर रोपेका सिंहबहादुर आलेको ध्येय पनि त्यस्तै थियो। त्यति वेला गाउँमा सुन्दरताकै लागि सुपारी रोप्ने चलन थियो। लामिछाने सम्झन्छन्, “मैले सिंहबहादुर आलेसँगै ९० रुपैयाँको गोडा चार-एक सुपारीका बिरुवा ल्याएर रोपेको थिएँ।”
पाखाबारीमा बिस्तारै सुपारीका बिरुवा थप्दै गए। अहिले त्यही सुपारीको भरमा परिवार चलिरहेको लामिछाने बताउँछन्। सुपारीखेतीबाट वार्षिक एक लाख रुपैयाँ आम्दानी हुन्छ।
चार दशकअघि गरेको मेहनतले लामिछाने दम्पतीलाई बसेरै खान पुगेको छ। पहिले जस्तो बिक्री गर्न समस्या पनि हुँदैन। “पाखामै व्यापारी आएर फूल लाग्दै गरेको सुपारीको मोलमोलाइ हुन्थ्यो, त्यति वेला मेरो सुपारीलाई ५०० रुपैयाँ मोले। मैले आ होस्, बरु शनिश्चरे बजारमा लगेर बेच्छु भन्ने सोचें,” लामिछाने ४० वर्षअघिको बजार सम्झिँदै भन्छन्, “बजार पुर्याएर घर फर्किंदा ३०० रुपैयाँ मात्रै बच्यो, त्यसपछि बगानमै सुपारी बेच्ने गरेको छु।”
भर्खर खुलेको बाटोमा बरफल्याङबाट शनिश्चरे बजार पुग्दा लामिछानेको एक बिहान सकिन्थ्यो। बगानमै सुपारी उठाउने व्यापारी आएपछि समय र श्रम जोगिएको उनी सुनाउँछन्। “थोरै लागतमा लामो समय फल दिने नगदे बाली हो सुपारी,” उनी भन्छन्, “पहिले सजावटका लागि रोपिन्थ्यो, अहिले आम्दानीका लागि।”
सुपारी व्यापारबाट फाइदा लिइरहेका अर्का कृषक हुन्, बरफल्याङकै ५५ वर्षीया मेनुका विश्वकर्मा। पाखाभित्तामा मेनुकाको एक रोपनी जग्गा छ। अन्य खेतीपाती नहुने भएपछि उनले सुपारी लगाउन थालिन्। अहिले त्यही पाखोबाट वर्षमा ५० हजार रुपैयाँ आम्दानी हुने गरेको बताउँछिन्।
हुर्किएका सुपारीको बोटमुनि केरा र अम्रिसोका बोट रोप्न सकिन्छ। जसको व्यापारका लागि किसानले चिन्ता नै गर्नु पर्दैन। “सुपारीमा फूल लाग्न थालेपछि व्यापारी घर घरमा मोल गर्दै आउँछन्,” विश्वकर्मा भन्छिन्, “पैसा खाँचो हुनेले फूलमै बैना गर्छन्, नहुनेले चिचिला लागेपछि र केहीले पाकेपछि मात्रै।” उनले केही दिनअघि मात्रै पाक्न थालेका सुपारीको बैना २० हजार रुपैयाँ थापिन्।
उत्पादन भएको सुपारी कहाँ लगेर बेच्ने वा बिक्री नै नहुने हो कि भन्ने पीर बरफल्याङका किसानलाई छैन। सुपारीका प्रत्येक बोटले फल अनुसार एक हजारदेखि दुई हजार रुपैयाँ मूल्य पाउँछन्। त्यसका लागि पनि व्यापारी घरघरै डुल्दै आउँछन्, आफैं टिप्छन् र लिएर जान्छन्। “किसानले घरघरमै मूल्य पाएका छन्,” विश्वकर्मा भन्छिन्, “अहिले वडा नै सुपारी र केराखेतीका लागि प्रसिद्ध छ।”
यसरी वार्षिक रूपमा बरफल्याङवासीले बगानमै पैसा थाप्छन्। धेरै खेती गरेका किसानले वर्षमा १५ लाख रुपैयाँसम्म सुपारी बिक्री गरेका छन्। सजिलै आम्दानी हुने भएपछि जनप्रतिनिधिले पनि सुपारी रोपेका छन्। वडा सदस्य माधव सुवेदी भन्छन्, “म पनि सुपारीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्छु।”
२०५४ सालमा लगाएका सुपारीले अहिले मनग्य आम्दानी दिइरहेको सुवेदी सुनाउँछन्। सुपारीखेती अन्य बालीभन्दा सजिलो भएको उनको अनुभव छ। “सुपारीलाई तीन वर्षसम्म जोगाउन मुश्किल हो, त्यसपछि न पानी लगाउनुपर्छ, न त गोडमेल नै। आकाशे पानीकै भरमा फल्छ,” सुवेदी भन्छन्।
उनका मावलीका हजुरबुबा सिंहबहादुर आले साधु थिए। हजुरबुबाले सुवेदीलाई भनेका थिए, ‘आज रोपेको एक रोपनी सुपारीले तँलाई बुढेसकालमा पाल्छ।’
त्यति वेला उनलाई हजुरबुबाको कुरामा खासै वास्ता लागेको थिएन। अहिले सुपारी बिक्री गर्दा हजुरबुबाले भनेको याद आउने गरेको उनी सुनाउँछन्। उनी भन्छन्, “हजुरबाले भनेको कुरा साँचो रहेछ।” त्यही भएर गएको वर्ष मात्रै उनले १० रोपनी जग्गामा सुपारीका बिरुवा रोपेका छन्।
गाउँमा कोरोनाभाइरसको महामारीका वेला धेरै सुपारी रोपिएको वडा सदस्य सुवेदी सुनाउँछन्। घरबाट बाहिर हिंड्न, गाउँघरमा बोलचाल गर्न नमिल्ने भएपछि पाखाभित्तामा नै सुपारीका बिरुवा रोपिए। सबै आफ्नो खेतबारीमा व्यस्त भए। अब यस क्षेत्रमा सुपारीखेतीबाट किसानको आम्दानी झनै बढ्ने उनको आकलन छ।
रोङ गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार ८०० परिवारले सुपारीको व्यावसायिक खेती गर्छन्। दुई हजार ४०० रोपनी जग्गामा लगाइएको सुपारीखेतीबाट कम्तीमा ८०० टन सुपारी फल्ने गरेको कृषि शाखा अधिकृत तीर्थराज देवकोटा बताउँछन्। रोङमा उत्पादन हुने सुपारीको ७० प्रतिशत बगान बरफल्याङमै छ। त्यसपछि मात्रै रोङ वडा नंं १, ४ र ५ पर्छन्।
यसअघि सुपारीखेती प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणादेखि बिरुवा वितरणसम्म गरिएको थियो। जसको फाइदा अहिले किसानले बटुलिरहेको वडा सदस्य सुवेदी सुनाउँछन्।