सूर्य र इशानको उत्कृष्ट प्रदर्शनमा बागमतीको फाइनल सम्भावना जीवितै
सूर्य तामाङ र इशान पाण्डेले उत्कृष्ट प्रदर्शन गरेपछि बागमती प्रदेशको फाइनल पुग्ने सम्भावना जीवितै छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। लुम्बिनीले दिएको १०७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
बागमतीका लागि इशान पाण्डेले अर्धशतक प्रहार गरे। उनले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ५० रन बनाए। त्यस्तै, रित गौतमले २४ र आशुतोष घिरैयाले १४ रन बनाए।
लुम्बिनीका लागि निर्मल गुरुङले दुई, कृष्ण कार्की र अभिषेक गौतमले एक-एक विकेट लिए। अन्य बलरले विकेट लिन सकेन।
यसअघि ब्याटिङ गरेको लुम्बिनीले ३२.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४ र विराट भण्डारीले १३ रन बनाए।
बागमतीका लागि सूर्य तामाङले ६ विकेट लिए। उनले १० ओभरमा दुई मेडन राख्दै २६ रन मात्रै खर्चिए। त्यस्तै, विपिन आचार्यले दुई, प्रतिश जीसी र कृजन गुरुङले एक-एक विकेट लिए।
यस जितसँगै बागमती प्रदेश १२ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने रनरेटमा पनि सुधार गरेको छ। लिग चरणका नौ वटै खेल खेलिसकेको बागमतीले ६ खेल जितेको हो।
लुम्बिनी भने यसअघि नै फाइनलको दौडबाट बाहिरिइसकेको छ। अहिलेसम्म खेलेका ६ खेलमा एक मात्रै जितेको छ।
१२ अंक रहेको नेपाल प्रहरी क्लब रनरेटका आधारमा शीर्षस्थानमा छ। लिग चरणका खेल सकिंदा अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।