ग्यालेक्सी एस-२४ को नेपालमा अनावरण
सामसङको नयाँ ग्यालेक्सी एस-२४ सिरिजको नेपालमा पनि अनावरण गरिएको छ।
काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल-२०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस-२४ सिरिजको अनावरण गरेका हुन्। यसको अनावरणसँगै नेपालमा पनि मोबाइल एआईको नयाँ युगको शुरूआत भएको सामसङ नेपालका निर्देशक स्थापितले बताए।
स्थापितले भने, “ग्यालेक्सी एस-२४ साँच्चै नै भविष्यको फोन हो। सामसङ ग्यालेक्सी एआईको साथ अल्ट्रा-पर्सनालाइज्ड युजर-एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिनेछौं।”
सामसङको पहिलो एआई प्रविधियुक्त फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्ने उनको भनाइ थियो। यसले भाषाको अवरोध हटाउने जनाइएको छ।
यसले अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि आफ्ना प्रयोगकर्ताका लागि १३ भाषामा अडियो र टेक्स्ट अनुवाद गर्छ। प्रयोगकर्ताले टेक्स्ट पठाउँदा, च्याट असिस्टले सन्देशलाई तुरुन्तै अनुवाद गर्ने प्रविधि छ।
यसका प्रयोगकर्ताले थप उपकरण विना गुणस्तरीय भिडिओ पनि बनाउन सक्नेछन्। यसमा गेमिङको पनि सुविधा छ।
सामसङ नेपालले माघ ३ गतेदेखि प्रि-बूकिङ खोलेको थियो। एनसेलको सहकार्यमा बूकिङ गर्ने पहिलो ५०० जनालाई प्रिमियम सिम पनि प्रदान गरेको छ। सबै प्रि-अर्डर स्टकहरू तीन दिनभित्र बूक गरिएको जनाएको छ। माघ २४ बाट यो फोन बजारमा उपलब्ध हुनेछ।
ग्यालेक्सी एस-२४ सिरिजका मोबाइलको फरक फरक मूल्य छ। एक लाख १९ हजार ९९९ देखि एक लाख ९९ हजार ९९९ रुपैयाँसम्मका मोबाइल फोन उपलब्ध छन्।