मेची पुलबाट गगन थापाले शुरू गरे संवाद यात्रा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा शुरू गरेका छन्।
जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका संवाद यात्रा शुरू गरिएको थापाले बताए। शनिबार भद्रपुरस्थित मेची पुल नजिकै आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा आरम्भ गरेको बताए। यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीलाई समुदायसँग जोड्ने अभियान भएको उनको भनाइ थियो।
कांग्रेसप्रति जनताका गुनासो सुन्न र आमसमुदायका समस्या बुझ्ने यात्राको उद्देश्य रहेको उनले बताए। “जनतामा निराशा छ। त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदा सहित लाभ लिने गर्नुभएको छ,” थापाले भने, “तर नेपाली कांग्रेसले समाज परिवर्तन सहित निराशामुक्त बनाउनु छ।”
कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताका दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत मद्दत गर्ने बताए। पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको शर्माको भनाइ थियो।
कांग्रेस केन्द्रीय कार्यसमितिले यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। अभियान अन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत सहभागी थिए।
महामन्त्री थापाले आजै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम छ। संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम छ।
संवाद यात्रा माघ २६ गतेसम्म चल्ने कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए।