सामान्य लाग्ने असामान्य घटनाको कथा
भाषा र शिल्पको हिसाबले सुन्दर हेभन उपन्यास विषयका हिसाबले पनि सामान्य मानिंदै आएको तर असामान्य घटनाहरूको वर्णन हो।
बाल्यकाल र किशोरावस्थामा एक-अर्कालाई जिस्क्याउनु, होच्याउनु सामान्य मानिन्छ। तर जो त्यसबाट गुज्रिन्छ, उसका लागि सामान्य हुँदैन। त्यो परिस्थितिबाट गुज्रिरहेका बालबालिका तथा किशोरकिशोरी शारीरिक रूपमा केही भिन्न पनि हुनसक्छन्।
त्यस्तै, अँध्यारो परिस्थितिमा रुमल्लिइरहेका किशोरको कथा जापानी लेखक मियाको कावाकामीले हेभन उपन्यासमा उधिनेकी छन्। नाम हेभन भए पनि उपन्यासले स्वर्ग जस्तो संसारको चित्रण भने गर्दैन। यो त समाजले सामान्य ठानेर सम्बोधन नगरेको असामान्य समस्याको कथा हो।
उपन्यासका नायक १४ वर्षीय स्कूले किशोर छन्। उनका आँखा अरूभन्दा केही फरक देखिन्छन्, जसलाई ‘लेजी आई’ भनिन्छ। सहपाठीहरू ‘लेजिले आई’ भनेर जिस्क्याउँछन्। अरूभन्दा फरक आँखा भएकै कारण स्कूले दिनहरू उनका लागि सजिला हुँदैनन्। जिस्काउने मात्र होइन, कतिपय सहपाठीले विना कारण पिट्छन्। आफूसँग भइरहेको दुर्व्यवहार कसैसँग भन्न पनि सक्दैनन्।
एक दिन आफ्नो डेस्कमा चिठी जस्तो कागजको टुक्रा भेट्छन्, जसमा लेखिएको हुन्छ, ‘अब हामी साथी हुनुपर्छ।’
त्यो कागजको टुक्रा उनकै कक्षाकी कोजिमाको हुन्छ। त्यो टुक्राले अचम्मित बनाउँछ। किनकि त्यति वेलासम्म उनलाई कसैले माया गरेर साथी भनेका थिएनन्।
कोजिमालाई पनि सहपाठीले विद्यालयमा उसै गरी जिस्क्याउने गर्छन्, नराम्री र गरीब भनेर। उनलाई साथीहरू विना कारण हाँस्ने र गिज्याउने गर्छन्।
स्कूलका सहपाठीको जिस्क्याइले दुवैलाई नजिक बनाउँछ। सजिलै साथी बन्छन्। एकअर्कालाई पठाएका चिठीमा उनीहरूका एक्ला र धूमिल दिनहरूका प्रतिबिम्ब भेटिन्छन्।
कसैले थाहा नपाउने गरी भेटघाट गर्छन्। दुःखसुखका कुराकानी गर्छन्। जब स्कूल पुग्छन्, कहिल्यै नचिनेको जस्तो व्यवहार गर्छन्।
कोजिमा पुरानै कपडा लगाउँछिन्। गरीब भए पनि स्वाभिमानी पिताप्रति असाध्यै माया गर्छिन्। तर सहपाठीले बुझ्न सक्दैनन्। जिस्क्याउने र गरीब भनेर हियाउँछन्। कोजिमालाई त्यसमा कुनै गुनासो छैन। तर ठीक उल्टो, कथाका प्रमुख पात्र जसले आफ्नो कथा भन्दै छन्, उनीसँग गुनासो छ।
उनीहरूले एकअर्कालाई साथीभन्दा पर सोच्न थालिसकेका हुन्छन्। कोजिमालाई साथीका आँखा असाध्यै मन पर्छन्। उनीहरूले एकअर्कालाई मन पराएको जब सहपाठीलाई थाहा हुन्छ, सम्बन्धले अर्कै मोड लिन्छ। अप्रत्याशित घटनाक्रमले किशोर मनस्थितिमा कस्तो आघात पुग्छ भन्ने पुस्तकमा खुलाइएको छ।
उपन्यासले किशोरकालीन दिनका धूमिल कथाहरू बोल्छ। अरू जस्तो नदेखिनुले उपन्यासका दुवै पात्र आफ्ना सहपाठीका अगाडि हाँसो र लज्जाको पात्र बनेका छन्। दुवैलाई पढाइ र स्कूल प्रिय लाग्दैन तर पुस्तक प्रिय लाग्छन्।
कावाकामीले उपन्यासको शीर्षक हेभन राखे पनि स्वर्गको कथा होइन। यो नामकरण एक राजनीतिक निर्णय हो। बाल्यकाललाई सबैले स्वर्णिम भनेर तुलना गर्दै आए पनि बालबालिकालाई धेरै कुराले नर्क झैं महसूस गराइरहेको हुन्छ भन्ने लेखकले स्मरण गराउन खोजेका छन्।
लेखकका रूपमा किशोर मनस्थितिलाई चित्रण गर्न सजिलो छैन। किशोरावस्था त्यस्तो समय हो, जब किशोरकिशोरी आफैं अनौठा समस्यासँग जुधिरहेका हुन्छन्। त्यो समयमा जब एक्ला बन्न पुग्छन्, त्यसले मानसिक रूपमा असर पारिरहेको हुन्छ।
हेभन त्यस्तै एक्ला किशोरकिशोरीको कथा हो। जोसँग आफ्ना समस्यालाई सुनिदिने र सम्बोधन गरिदिने मानिस छैनन्। निराश छन्। निराशाबाट बाहिर निस्कने उपायसँग पनि त्यति परिचित छैनन्।
उपन्यासका प्रमुख पात्र नामविहीन छन्। उपन्यासकारले लिएको यो जोखिमपूर्ण चलाखी हो। शायद लेखकलाई लाग्यो- यो समाजको साझा समस्या हो, कथाको युवक जो पनि हुन सक्छ, तपाईं हामी पनि।
स्कूलमा हुने यस्ता घटनालाई प्रायः सामान्य ठानेर नजरअन्दाज गर्छौं। तर यस्ता घटनाले ठूलो दुर्घटना निम्त्याइरहेको हुन्छ। सन् २०१८ को यूनेस्कोको तथ्यांक अनुसार हरेक तीनमा एक बालबालिका यस्तो खाले दुर्व्यवहारबाट पीडित हुन्छन्।
उपन्यासमा लेखकले किशोरकिशोरीले स्कूलमा भोग्ने दुर्व्यहारका कथा मात्र प्रस्तुत गरेकी छैनन्, समाजमा विद्यमान ‘कुरूपता’ र ‘सुन्दरता’ को परिभाषामा पुनर्व्याख्याको खाँचो औंल्याएकी छन्। त्यो परिभाषाभन्दा फरक देखिने मानिसमा कस्तो प्रभाव पर्छ भन्ने पनि देखाएकी छन्।
उपन्यासका दुवै प्रमुख पात्र समाजले खोज्ने सुन्दरताको मानकभित्र पर्दैनन्। एकका आँखा अरूका भन्दा अलि फरक छन् भन्ने अर्की काली र सानी छन्। जसका कारण दुवै सहपाठीबाट पीडित छन् र दुर्व्यवहारको शिकार भएका छन्।
यसले समाजको त्यो तहबारे बोल्छ, जसबारे बोल्न अझै धक मान्छौं। सुन्दरता र कुरूपताका यो कठिन परिभाषाले कैयौं मानिसलाई मानिस भएर बाँचेको आभास दिंदैन। त्यही कुरा पुस्तकले बोल्छ।
सन् २०२२ को बूकर पुरस्कारका संक्षिप्त सूचीमा परेको यो पुस्तकले पाठकका रूपमा अनौठो तर सधैं भइराख्ने घटनालाई गहिरिएर सोच्न बाध्य बनाउँछ। अरूलाई दुर्व्यवहार गर्ने र आफैं दुर्व्यवहारको शिकार बन्ने दुई भिन्न संसारको मनोविज्ञानलाई बुझ्न पनि सजिलो बनाउँछ।
जब उपन्यासको प्रमुख पात्रले आफूलाई पिट्ने र जिस्क्याउने आफ्नो सहपाठीलाई प्रश्न गर्छ, ‘तिमीले मलाई यस्तो गर्दा कहिलेकाहीं दुःख र ग्लानि महसूस हुन्छ कि हुँदैन?’
उसको साथीको जवाफ हुन्छ, ‘यस्तो घटना तिमीसँगै हुनुपर्छ भन्ने छैन। यो जोसँग पनि हुन सक्छ। अनौठो अवस्थामा तिमीमाथि हुन पुग्यो, जुन भइरहनेछ।’
यो उत्तरले हामी अर्काको भावना र परिस्थतिलाई कसरी सामान्यीकरण गर्छौं भन्ने पनि देखाएको छ।
समग्रमा कावाकामीको हेभन संसारको कुरूपता र मानिसमाथि हुने दुर्व्यवहारको मिहिन प्रस्तुति हो। पुस्तकलाई छिचोल्न समय लाग्दैन। भाषा र शिल्पको हिसाबले सुन्दर यो कृति विषयका हिसाबले पनि सामान्य ठानिने तर असामान्य घटनाहरूको वर्णन हो।