सिक्लेसका ‘म्हिनेमै’
सिक्लेसमा म्हिनेमै प्रथा सूचना सम्प्रेषण मात्र होइन, प्रकृतिलाई पुज्दा, पुर्खालाई सम्झिँदा गाउँसमाजलाई जोगाउँछन् भन्ने विश्वास पनि हो।
ओ...
ब्हार प्याई उँदु, बुँई प्याई उँदु,
स्याल्दो थेउमै, दोल्दो रिउमै,
आनपरी ल्हेमै, धनपरी ल्हेमै,
क्यु क्रई ल्हेमै, क्यु बिई ल्हेमै,
पोना क्येई क्वोइर खाँउ तद ओ...
वसन्तदेखि वर्षा ऋतु नसकिंदासम्म हरेक बिहान पर्यटकीय गन्तव्य सिक्लेस गाउँ यस्तै ध्वनिले गुन्जिन्छ। गाउँका म्हिनेमै अर्थात् कटुवाल तिलबहादुर गुरुङ सबेरै उठ्छन्, चोखो पानी सहितको लोटा र फूलपाती लिएर सिक्लेस गाउँको मध्यभागस्थित सभाथर टोलको सभाचोकमा आइपुग्छन्।
गुरुङ समुदायको घना बस्ती रहेको सिक्लेस गाउँकै आडमा उभिएका लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालतिर फर्केर तीन पटक ढोग्छन्। हिमाललाई हेरेरै गाउँका सबैले सुन्ने गरी यसै गरी प्रकृतिलाई पुज्छन्।
सास नफेरीकन, शब्द नबिगारीकन नौ पटक तीन चरणमा स्थानीय सिमेभुमे, प्रकृतिको रक्षा गर्न गाउँलेका तर्फबाट म्हिनेमैले अनुरोध गर्छन्। “हामी रीतिथितिमा बस्नुपर्छ,” तिलबहादुर भन्छन्।
सिक्लेसको कटुवाल घोकाउने प्रथाले गाउँलाई सुरक्षित बनाइरहेको उनको विश्वास छ। “आजसम्म गाउँमा अनिष्ट केही भएको छैन, बाढीपहिरोले गाउँ र हाम्रा मान्छेलाई केही भएको छैन,” तिलबहादुर आत्मविश्वाससँग बोल्छन्, “देउताहरूलाई पूजा गरेरै हो।”
७० वर्षीय तिलबहादुरले २० वर्षको उमेरदेखि कटुवाल घोक्न थालेका हुन्। उनको परिवार खलकले मात्रै सिक्लेस गाउँमा म्हिनेमै (कटुवाल) हुन पाउँछ। कटुवाल घोक्ने जिम्मेवारी पुस्तौंदेखि उनकै परिवारको भागमा छ।
सानो छँदा उनी बाजे, बुबा र दाइले कटुवाल घोकेको सुन्थे, देख्थे। उनलाई पनि कटुवाल घोक्न सिक्नैपर्ने भयो। बुबाले नै एक-एक शब्द र प्रक्रियाबारे तिलबहादुरलाई सिकाए। तिलबहादुरपछि पनि उनकै परिवारका सदस्य नै कटुवाल हुनुपर्ने उनी सुनाउँछन्।
५० वर्षदेखि बिरामी हुँदा बाहेक गाउँमा कटुवाल निरन्तर घोकेका छन्। कहिलेकाहीं बिरामी हुँदा दाइका छोराहरूले गरेका थिए। कटुवाल घोक्नुपर्ने भएकैले उनी गाउँ बाहिर जाँदैनन्। म्हिनेमैका लागि गाउँलेले वर्षको एक पटक सक्ने जति कोदो, मकै तथा अन्य अन्न उठाएर दिने गरेको उनी बताउँछन्।
देवतालाई स्वागत गरेपछि केही हुन्न होला!
चैतदेखि भदौसम्म गाउँलेले कटुवालको माध्यमबाट देवीदेवता, प्रकृतिलाई अनुरोध गर्छन्। गुरुङ भाषामा नै देवताका लागि प्रार्थना गरिन्छ। देवताको स्वागत गर्दै प्रकृतिलाई पुज्दै पुर्खालाई सम्झिंदै कटुवाल घोकिन्छ। चैत, असार र भदौमा म्हिनेमैले भन्ने कुरा फरक हुन्छन्।
चैत महीनामा फुल्दै-फक्रिंदै गरेका बालीलाई असिनापानीबाट बचाइदिनू, प्रकृति र स्थानीय सिमेभुमेको रक्षा गरिदिनू, बचाइदिनू भनेर गाउँलेको तर्फबाट प्रकृति देवतालाई म्हिनेमैले अनुरोध गर्छन्। चैत महीनामा म्हिनेमैले भन्छन्, ‘सुनको पखेटाले छोपिदिनू, पैसाको पखेटाले छोपिदिनू है! सिमेभुमे देवीदेवताहरू, भोलि तपाईंहरू सबै एक ठाउँमा जम्मा हुनू है! पूर्व, पश्चिम, उत्तर, दक्षिण गएका देवीदेवताहरू, चोखो पानी पिउने देवीदेवताहरू भोलि तपाईंहरू सबै एक ठाउँमा जम्मा हुनू है! व्यापार-व्यवसायमा गएका भेडा, गाई, भैंसी गोठालाहरू तपाईंहरू पनि सबै एक ठाउँमा जम्मा हुनू है! भोलि तपाईंहरूको सेवा गर्छौं।’
असार महीनामा धान रोप्ने वेला भएकाले पानी माग्नका लागि अनुरोध गरिन्छ। म्हिनेमैले असारमा भन्छन्, ‘असार महीनामा सुनको ढोका खोलिदिनू, पैसाको ढोका खोलिदिनू है! सिमेभुमे देवीदेवताहरू, भोलि तपाईंहरू सबै एक ठाउँमा जम्मा हुनू है! पूर्व, पश्चिम, उत्तर, दक्षिण गएका देवीदेवताहरू, चोखो पानी पिउने देवीदेवताहरू भोलि तपाईंहरू सबै एक ठाउँमा जम्मा हुनू है! व्यापार-व्यवसायमा गएका भेडा, गाई, भैंसी गोठालाहरू तपाईंहरू पनि सबै एक ठाउँमा जम्मा हुनू है! भोलि तपाईंहरूको सेवा गर्छौं।’
यहाँ पानीको मूल मुहानलाई सुनको ढोका भनिएको हो।
भदौ महीनामा म्हिनेमैले अब धान, कोदो लगायत बालीहरू सबै रोपिसकेकाले पानीको मात्रा पुग्यो र वरिपरिका मूल तथा खोलानालाको मुहानमा पानीको मात्रा घटाइदिन भनेर अनुरोध गर्ने गरेको म्हिनेमै तिलबहादुर बताउँछन्। यो महीनामा म्हिनेमैले भन्छन्, ‘भदौ महीनामा सुनको ढोका बन्द गरिदिनू, पैसाको ढोका बन्द गरिदिनू है! सिमेभुमे देवीदेवताहरू, भोलि तपाईंहरू सबै एकै ठाउँमा जम्मा हुनू है! पूर्व, पश्चिम, उत्तर, दक्षिण गएका देवीदेवताहरू, चोखो पानी पिउने देवीदेवताहरू भोलि तपाईंहरू सबै एकै ठाउँमा जम्मा हुनू है! व्यापार-व्यवसायमा गएका भेडा, गाई, भैंसी गोठालाहरू तपाईंहरू पनि सबै एकै ठाउँमा जम्मा हुनू है! भोलि तपाईंहरूको सेवा गर्छौं।’
म्हिनेमै तिलबहादुर एक शब्द पनि तल-माथि होला कि भनेर सर्तक हुन्छन्। उनलाई कुनै शब्द बिग्रिएमा गाउँ र गाउँवासीलाई केही नराम्रो हुने हो कि भन्ने पिरलो हुन्छ। त्यसैले उनी सर्तक भएर एक एक शब्द उच्चारण गर्छन्। जसले गर्दा गाउँको सुरक्षा हुने उनको विश्वास छ। “देवतालाई स्वागत गरेपछि केही हुन्न होला,” उनी भन्छन्।
म्हिनेमै जोगाउने चिन्ता
परापूर्वकालमा सूचना सम्प्रेषणका लागि प्रयोग हुने कटुवाल प्रथा डिजिटल युगको प्रवेशसँगै हराउँदै गयो। नेपालका केही गाउँमा मात्र कटुवाल प्रथा बाँकी छ। सिक्लेस गाउँमा पनि कटुवाल प्रथा हराउला कि भन्ने चिन्ता तिलबहादुरलाई छ। गाउँ र गाउँवासीको सुरक्षाका लागि कटुवाल भनिने गरेको बताउँदै उनी यो नरहे केही होला कि भन्ने चिन्ता लाग्ने गरेको सुनाउँछन्।
तिलबहादुरका आठ सन्तान छन्, ६ छोरा र दुई छोरी। केही गाउँमै छन्, केही भने शहरतिर लागिसकेका छन्। उनीपछि दाजुभाइका सन्तान म्हिनेमै हुन्छन्। उनका सन्तति कसैले नगरिदिए यो रोकिने पो हो कि भन्ने उनलाई चिन्ता पनि छ।
“के गर्ने, कसो गर्ने होला भनेर चिन्ता लाग्छ। यहाँ भाँडभैलो हुने हो कि, खोलानदी बढ्ने पो हो कि, बाढीपहिरो जान्छ कि, डर लाग्छ,” तिलबहादुर भन्छन्, “जिजुबाजेको पालादेखि अहिलेसम्म यो गाउँमा केही नराम्रो सुनिएको छैन।”
सिक्लेसमा कटुवाल प्रथा भनेको सूचना सम्प्रेषण मात्र होइन, प्रकृतिलाई पुज्दा पुर्खालाई सम्झँदा गाउँलाई जोगाउँछन् भन्ने विश्वास पनि हो। गाउँ जोगाउने जिम्मेवारी बोकी हिंडेका म्हिनेमैलाई गाउँ र भावी पुस्ताको चिन्ता छ।
(गुरुङ भाषालाई नेपालीमा उल्था गर्न मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले सहयोग गरेका हुन्।)