नेपाल यू-१९ विश्वकपको ‘सुपर सिक्स’ मा
नेपाल अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ विश्वकपको ‘सुपर सिक्स’ मा प्रवेश गरेको छ।
पूर्वी लन्डनमा शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाएर जित हासिल गरेको छ।
नेपालका लागि देव खनालले अर्धशतक प्रहार गरे। उनले ८९ बलमा ५८ रन बनाए। त्यस्तै, दीपक बोहराले २७, आकाश त्रिपाठीले १६ र अर्जुन कुमालले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १४५ रन बनाएको थियो। अफगानिस्तानका लागि एएम घाजनफरले ३७, नसीर खानले ३१, फरिदून दावदजाइले २९ र हसन इसाखिलले २० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए। उनले आठ ओभरमा ३४ रन खर्चिएर अफगानिस्तानलाई दबाबमा पारेका थिए। त्यस्तै, दीपेश कँडेलले दुई, गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए।
नेपाल यसअघिका दुई खेलमा न्यूजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। समूहमा तेस्रो हुँदै ‘सुपर सिक्स’ मा पुगेको हो।