समुदायमा जनचेतना फैलाउँदा एन्टिबायोटिकको आफूखुशी प्रयोग घट्छ : अध्ययन
समुदायमा प्रदान गरिने सूचना र शिक्षाले एन्टिबायोटिकको आफूखुशी र अति प्रयोग घट्ने अध्ययनले देखाएको छ।
अमेरिकाको पेन्सिलभेनिया स्टेट विश्वविद्यालय, हेनरी फोर्ड हेल्थ, जिटिए फाउन्डेशन र शून्य एक नेपाल संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेपालमा एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगले एन्टिबायोटिकले काम नगर्ने अवस्था (एन्टिमाइक्रोबायल रेसिस्टेन्स–एएमआर) आएको छ। बिरामीले आफैं फार्मेसी र चिकित्सकबाट एन्टिबायोटिक मागेर सेवन गर्ने प्रवृत्ति बढेपछि एन्टिबायोटिकले काम नगर्ने अवस्था आएको हो।
एन्टिबायोटिक प्रयोगको अवस्था बुझ्न गरिएको अध्ययनले समुदायमा सूचना पुर्याउँदा आफूखुशी प्रयोग घट्ने देखिएको छ। काठमाडौं र ललितपुर नजिकका ११ वटा नगरपालिकाका ४० वडाका ९६० घरधुरीमा गरिएको अध्ययनले यस्तो नतीजा देखाएको हो। ९६० घरधुरीलाई कन्ट्रोल समूह र इन्टरभेन्शन समूहमा विभाजित गरेर अध्ययन गरिएको थियो।
अध्ययनका लागि समुदायमा नर्सहरू खटाइएका थिए। नर्सले इन्टरभेन्शन समूहमा विभाजित घरपरिवारमा गएर चिकित्सकको सिफारिश विना एन्टिबायोटिकको प्रयोग गर्दा र एन्टिबायोटिक सही मात्रामा नलिंदाको जोखिम बताएका थिए। त्यस्तै, उनीहरूलाई एन्टिबायोटिकको अति प्रयोगले हुने हानिबारे सूचनामूलक भिडिओ पनि देखाएका थिए। यससँगै अनुसन्धाताले एन्टिबायोटिकले काम नगर्ने अवस्थाबारे जानकारी भएको पुस्तिका समेत उपलब्ध गराएका थिए।
त्यसको ६ महीनापछि दुवै समूहका हरेक घरधुरीलाई प्रत्येक दुई सातामा थप भिडिओ सन्देशहरू पठाइयो। त्यो ६ महीनाको बीचमा कन्ट्रोल र इन्टरभेन्शन दुवै समूहका अभिभावकले बच्चा बिरामी हुँदाको जानकारी आशा एपबाट अनुसन्धान टोलीलाई पठाएका थिए।
६ महीनासम्म गरिएको अध्ययनले ६५ प्रतिशत रोगमा चिकित्सकको सिफारिश विना एन्टिबायोटिक दिइएको पत्ता लागेको हो। आफूखुशी सबैभन्दा धेरै प्रयोग हुने एन्टिबायोटिकमध्ये एमोक्सिसिलिन ३२ प्रतिशत, सेफिक्जिम १९ प्रतिशत, मेट्रोनिडाजोल १६ प्रतिशत, एजिथ्रोमाइसिन १५ प्रतिशत र सेफपोडोक्साइम सात प्रतिशत थिए।
अध्ययन अनुसार एन्टिबायोटिकको असरबारे जानकारी दिइएका अभिभावकमा एन्टिबायोटिकको आफूखुशी प्रयोग कम भएको पाइयो। इन्टरभेन्शन समूहका बालबालिकालाई कन्ट्रोल समूहका बालबालिकाको तुलनामा चिकित्सकको सिफारिश विना एन्टिबायोटिक दिइने सम्भावना लगभग १५ प्रतिशत विन्दुले घटेको देखियो। एन्टिबायोटिक्स दिइएकामध्ये इन्टरभेन्शन समूहका बालबालिकालाई सिफारिश विना एन्टिबायोटिक प्राप्त गर्ने सम्भावना कन्ट्रोल समूहका बालबालिकाको तुलनामा ३३ प्रतिशत विन्दुले घटेको थियो।
इन्टरभेन्शन समूहका बालबालिका बिरामी पर्दा औषधि पसलमा भन्दा चिकित्सककहाँ लैजाने सम्भावना बढेको अध्ययनमा उल्लेख छ। यद्यपि इन्टरभेन्शनका कारणले एन्टिबायोटिकको समग्र प्रयोग (सिफारिश विना र सिफारिश सहित) नघटेको अध्ययनका प्रमुख अनुसन्धाता पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका एशोसिएट प्राध्यापक डा.युवराज आचार्य बताउँछन्। यसले इन्टरभेन्शनले गम्भीर अवस्थामा आवश्यक एन्टिबायोटिकको प्रयोगलाई निरुत्साहित गर्दैन भन्ने जनाउने आचार्यको भनाइ छ।
त्यस्तै, उनका अनुसार इन्टरभेन्शन समूहका बालबालिकामा बिरामी पर्दा औषधि पसलभन्दा चिकित्सककहाँ लाने सम्भावना बढ्यो। तर यसले इन्टरभेन्शन समूहले कन्ट्रोल समूहको तुलनामा उपचारका लागि बढी खर्च गर्यो। यी दुई थप अनुसन्धानको विषय भएको डा. आचार्यले बताए।
अध्ययनको नतीजामा टिप्पणी गर्दै संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीले एन्टिबायोटिकले काम नगर्ने समस्या नेपालमा धेरै नै भएकाले यो अध्ययनले नीतिनिर्माणमा सहयोग पुर्याउने बताए। एन्टिबायोटिकले काम नगरेको कारण आफूकहाँ आउने बिरामीमध्ये सातामा विभिन्न उमेर समूहका दुईदेखि तीन जना बिरामी गुमाइरहेकाले पनि समुदायसम्म जानकारी पुर्याउनुपर्ने डा. सुवेदीको भनाइ थियो। “नेपालमा एन्टिबायोटिकले काम नगर्ने समस्या यति धेरै भइसकेको छ कि अब त्यसलाई कसरी कम गर्ने भन्नेतर्फ नीतिनिर्माताले बहस गर्नुपर्छ,” उनी भन्छन्, “एन्टिबायोटिकले काम नगर्ने समस्या समाधान गर्न जुटेनौं भने विकराल अवस्था आउन सक्छ।”