एमालेको जितले कोशीमा हलचल
राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवार पराजित भएपछि कोशी प्रदेशको सत्ता गठबन्धनमा हलचल आएको छ।
कोशी प्रदेशबाट नेकपा (एमाले)की उम्मेदवार रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन्। कोइरालाको जितसँगै सत्तारूढ गठबन्धनमा भने हलचल आएको छ। माघ ११ गते साँझ निर्वाचन परिणाम घोषणा भएसँगै गठबन्धनका नेता तथा कार्यकर्ता आरोप–प्रत्यारोपमा उत्रिएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता खुलेरै नेपाली कांग्रेसको आलोचना गरिरहेका छन्। उनीहरू ‘कांग्रेसले छल गरेको’ भन्दै सामाजिक सञ्जाल मार्फत टीकाटिप्पणी गरिरहेका छन्। कांग्रेस नेता तथा कार्यकर्ता भने प्रतिनिधि सभामा दुई पटक हार बेहोरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको जितमा मख्ख देखिन्छन्।
कोशीमा कांग्रेससँगको सहकार्यमा सत्ता गठबन्धनबाट सबैभन्दा धेरै घाटा माओवादीलाई भएको छ। गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै एमालेमा भोट जानु राजनीतिक बेइमानी भएको माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङको भनाइ छ। “हामीलाई कोशी प्रदेशमा पटक पटक धोका भएको छ, सँगै हिंड्ने साथीले पिठ्यूँ पछाडिबाट छुरा हानेको छ,” अध्यक्ष नेम्बाङ भन्छन्, “अब सहकार्यमाथि गम्भीर प्रश्न खडा भएको छ।”
निर्वाचनमा कोशी प्रदेश सभामा रहेका ९३ जना सदस्यले मतदान गरेका थिए। तर माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई सत्ता गठबन्धनका तीन सांसदले मत दिएनन्। त्यस्तै, गठबन्धनमा रहेका दलका स्थानीय तहका १३ जनप्रतिनिधिले पनि माओवादी उम्मेदवारलाई मत दिएनन्। जसका कारण कार्की पराजित हुनुपर्यो।
कोशी प्रदेशमा माओवादीमाथि सत्ता गठबन्धनले दिएको धोकाको यो पहिलो घटना होइन। कांग्रेससँगको नयाँ सरकार गठन प्रक्रिया शुरू भएसँगै कोशी प्रदेशमा माओवादीको स्थान खुम्चिँदै गएको छ। सत्ता गठबन्धनकै दाउमा माओवादी सभामुख पद समेत गुमाउन पुग्यो।
माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय सत्ता गठबन्धनले गरे पनि सफल हुन सकेन। अन्तिम समयमा आठ जना सांसद लिएर कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए।
त्यसपछि पनि कार्की नेतृत्वको सरकारले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन। तीन महीना बितिसक्दा पनि पाँच वटा मन्त्रालय मुख्यमन्त्री कार्कीसँगै छन्। कोशी प्रदेश सभामा विभिन्न लाभबाट बाहिर रहँदै आएको माओवादीले पछिल्लो पटक राष्ट्रिय सभामा पनि हार बेहोरेपछि कोशीमा सत्ता गठबन्धनबारे माओवादीभित्र आलोचना शुरू भएको हो।
माओवादी कोशी प्रदेश कमिटीको बैठकले पनि राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका भएको निष्कर्ष निकालेको छ। माघ १२ मा विराटनगरमा सम्पन्न प्रदेश कमिटी बैठकले यसलाई ‘छल’ भनेको छ। बैठकले यस हारको छानबिन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोहन खत्री बताउँछन्। “यो छलको भर्त्सना गर्दै केन्द्रलाई सत्ता गठबन्धनबारे ध्यानाकर्षण पठाउने निर्णय गरेको छ,” खत्रीले भने।
एमाले–राप्रपा खुशी
कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्मरबहादुर विष्ट छन्। सभामुखका लागि प्रदेश सरकारसँग नजिकिएको राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा भने एमालेसँग सहकार्य गरेको थियो। यद्यपि राप्रपाका उम्मेदवार उद्धव पौडेल पराजित भएका छन्। आफ्नो समर्थनमा एमाले उम्मेदवार कोइरालाको जितले भने राप्रपालाई खुशी नै बनाएको छ।
राप्रपाका प्रवक्ता समेत रहेका कोशी प्रदेश सांसद भक्ति सिटौला हार स्पष्ट हुँदाहुँदै पनि उम्मेदवार उठाउने आँट गरेको र सन्तोषजनक मत पाएको बताउँछन्। राजनीति भनेकै हार-जित, जालझेल, छलकपटको मिश्रण भएकाले धोका भन्ने शब्द राजनीतिमा प्रिय नहुने सिटौलाको भनाइ छ। “हाम्रो गठबन्धनले स्पष्ट जितको मत रहेको सत्ता गठबन्धनलाई धक्का पुगेको छ, हामी यसैमा खुशी छौं,” सिटौला भन्छन्।
एक सिट जितेकोमा एमाले नेताहरू पनि खुशी नै देखिन्छन्। एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको समूहले नै राष्ट्रिय सभा निर्वाचनमा गुन तिरेको चर्चा दुवै गठबन्धनमा भइरहेको छ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने कार्कीले गुन तिरेको भन्दा पनि कांग्रेसले गुन लगाएको टिप्पणी गर्छन्। “कांग्रेसभित्रै पनि सत्ता पक्षको गठबन्धन मन नपराउने साथीहरू हुनुहुन्छ भन्ने संकेत हो। उहाँहरूले हाम्रा उम्मेदवारलाई मत दिनुभयो,” खतिवडा भन्छन्, “गठबन्धनको ठूलो तामझामबीच हामीले जित हात पारेका छौं, खुशी छौं।”
राष्ट्रिय सभामा कोइरालाको जित प्रदेशमा सत्ता गठबन्धनलाई ठूलो धक्का भएको उनको भनाइ छ। “हामीलाई यो गठबन्धनभन्दा पनि यसले गरेको काम मन परेको छैन,” एमाले प्रदेश अध्यक्ष खतिवडा भन्छन्, “यो गठबन्धन टुटाउन चाहन्छौं, केही हदसम्म सफल भयौं।”
लगातारको धोकाबाट आजित माओवादीसँग सत्ता गठबन्धन जोगाइराख्ने अर्को कुनै विकल्प छैन। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनतिर गइन्छ। तर कुनै पनि दल अहिले मध्यावधि निर्वाचनमा जान तयार देखिंदैनन्। तसर्थ माओवादी केन्द्रसँग पनि हेपाइ, अपमान र धोका सहेरै भए पनि सत्ता गठबन्धन टिकाइरहनुपर्ने बाध्यता छ।