कर्णालीलाई हराउँदै प्रहरी क्लब फाइनल नजिक
कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाल प्रहरी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रहरी क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। कर्णालीले दिएको १७२ रनको लक्ष्य प्रहरी क्लबले २३.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
यो जितसँगै प्रहरी क्लबले ६ वटै खेल जितेर १२ अंक जोडेको छ। साथै, आगामी खेल जित्न नसकेको खण्डमा पनि रनरेटका आधारमा फाइनल पुग्ने सम्भावना छ। अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका बागमती र मधेश प्रदेशको १०-१० अंक छ। बाँकी एक-एक खेल दुवै टोलीले जिते पनि रनरेटका आधारमा प्रहरी क्लब नै शीर्षस्थानमा हुनेछ।
त्यस्तै, चौथो र पाँचौं नम्बरमा रहेका त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको समान आठ अंक छ। बाँकी तीनै खेल जितेर १४ अंक जोड्ने सम्भावना भए पनि एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले फाइनलको यात्रा मुश्किल छ।
त्यसैगरी, छैटौं स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबको ६ अंक छ। बाँकी तीनै खेल जिते पनि शीर्षस्थानमा पुग्न मुश्किल छ। फेरि एपीएफले अर्को खेलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पुछारमा रहेका कर्णाली, गण्डकी, लुम्बिनी र कोशी प्रदेशको भने फाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ।
आजको खेलमा प्रहरी क्लबका लागि दिलीप नाथले महत्त्वपूर्ण अर्धशतक प्रहार गरे। उनले ६२ बलमा ७५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले ४३ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए।
कर्णालीका लागि प्रकाश जैसीले दुई, दिवान पुन र दीपेन्द्र रावतले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १७१ रन बनाएको थियो। कर्णालीका लागि निश्चल रावलले ५०, रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ र दिवान पुनले २० रन बनाए।
प्रहरीका लागि सागर ढकालले तीन, ललित राजवंशीले दुई, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक-एक विकेट लिए।