‘आफूलाई जे सत्य लाग्छ, त्यो लेख’
‘घर चलाउने महिलाहरूको सत्य त घरभित्रै हुन्छ। यो सत्य नलेख्नु भनेको उनीहरूको अनुभवलाई मान्यता नदिनु हो।’
गत वर्ष प्रकाशित उपन्यास द वुमन हु क्लाइम्ब्ड ट्रीजकी लेखिका हुन् स्मृति रवीन्द्र। यो उपन्यास एक महिलाको दैनिकी, जीवन, यौनिकता र मानसिक स्वास्थ्य तथा मधेशी नेपालीको पहिचानका विषयमा केन्द्रित छ।
नेपाली बुबा र भारतीय आमाकी छोरी स्मृति काठमाडौंमा हुर्किइन्, अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीबाट ‘क्रिएटिभ राइटिङ’ मा स्नातकोत्तर गरिन् र हाल उनी भारतको मुम्बईमा शिक्षण पेशामा कार्यरत छिन्। उनीसँग सेवा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
उपन्यास द वुमन हु क्लाइम्ब्ड ट्रीजका बारे केही बताइदिनुस् न।
यो उपन्यासमा भारतको बिहारमा जन्मिएकी ‘मीना’ पात्रको कथा छ। १४ वर्षको उमेरमै नेपाली केटासँग विवाह गरी मीना नेपाल आउँछिन्। उनको कथाको माध्यमबाट मैले नेपालमा मधेशी नेपालीको पहिचान कस्तो हुन्छ, पुरुषसत्ताभित्र महिलाका केकस्ता समस्या हुन्छन्, साथी भनेको के हो र साथीको महत्त्व कति हुन्छ भनेर देखाउन खोजेकी छु।
पुरुषसत्ताभित्र महिलाको स्थानलाई मुख्य विषय बनाइएकाले पनि यो पुस्तक धेरैजसो घरेलु सेरोफेरोमै केन्द्रित भएको पाइन्छ। यसो गर्दा आलोचना भएन?
यसको पाण्डुलिपि मैले एक जना साथीलाई पढ्न दिएकी थिएँ। पहिलो ५० पृष्ठ जति पढेर उनले भनेका थिए- यो के हो? यो त सबैको घरमा हुन्छ। यस्तो कुरा लेखेर के फाइदा छ? यो पुस्तकबारे मैले पाएको पहिलो प्रतिक्रिया त्यही थियो।
महिला लेखकका लेखहरू किन घरेलु विषयमै बढी केन्द्रित हुन्छन्?
महिलाले घरेलु विषयमा धेरै लेख्छन् भन्ने गुनासो त छ। तर त्यो साँचो होइन। महिलाले लेखेको धेरै किताबमा उनीहरू कसरी घरेलु अवस्था पार गर्छन् भन्ने हुन्छ तर उनीहरू कसरी घरेलु अवस्थामै बस्न बाध्य हुन्छन् भन्नेबारे कमै लेखिन्छ। यसबारे लेख्न चाहिं महिलाहरू नै अप्ठ्यारो मान्नुहुन्छ।
हामी आफ्नै अनुभवबारे पनि अलिकति रक्षात्मक छौं। हामीलाई आफ्नै अनुभव पनि महत्त्वपूर्ण लाग्दैन। त्यसैले हामी लेख्न चाहँदैनौं।
यो किताब लेखिरहँदा यो ठूलो कुरा, यो सानो कुरा, महिलाले त्यस्तो सोच्नु हुन्छ, यस्तो हुँदैन, कसले कति लेखिसक्यो भन्ने मलाई मतलब थिएन। मलाई जे सत्य लाग्छ, त्यही लेख्छु भन्ने मात्र थियो। र यसो गर्न सकेकी छु जस्तो पनि लाग्छ। विशेषगरी घर चलाउने महिलाहरूको सत्य त घरभित्रै हुन्छ। यो सत्य नलेख्नु भनेको उनीहरूको अनुभवलाई मान्यता नदिनु हो। महिला भएर मैले नै ती अनुभवलाई मान्यता दिइनँ भने सारा संसारलाई ती अनुभवलाई मान्यता नदिने अनुमति दिए जस्तो लाग्छ। सबै घरेलु सत्यको कथा बेग्लाबेग्लै हुन्छ। सबै कथा लेख्नु अत्यन्त जरूरी छ।
तपाईंका उपन्यासका पात्रले मानसिक सन्तुलन पनि गुमाउँछन् नि। यस्तो किन भएको?
पुरुषसत्तामा महिलाहरू पुरुषसत्तालाई नै आफ्नो सिद्धान्त मान्दै हुर्केका हुन्छन्। त्यसो हुँदा धेरै ठाउँमा महिलाको अनुभवलाई आधिकारिक मानिंदैन। कहिलेकाहीं त महिलाले आफ्नै अनुभव पनि बुझ्न सक्दैनन् किनकि सबैले उसको अनुभवमा शक्ति नै नभएको भनिरहेका हुन्छन्।
यस कारण आफ्नो अनुभवले आधिकारिकता नपाउँदा महिलाभित्र एउटा द्वन्द्व चलिरहेको हुन्छ। यसैले गर्दा मानसिक सन्तुलन हराउने निश्चितप्रायः हुन्छ।
मैले धेरै महिला चिनेकी छु, जो कुनै न कुनै किसिमको मानसिक तनाव, अस्वस्थता र डिप्रेशनबाट पीडित छन् तर उनीहरूलाई थाहै छैन त्यो के भइरहेको छ भनेर। उनीहरूको परिवारलाई पनि यो कुरा थाहा हुँदैन। यो गम्भीर समस्या हो। त्यसमाथि मानसिक सन्तुलन गुमाएका महिलाबारे कमै लेखिएका छन्। उनीहरूको कथा लेख्नु पनि हाम्रो दायित्व नै हो। यो समस्या कति फैलिएको छ भनेर हामीले स्वीकार नगरेसम्म यो लुकेर नै बसिरहन्छ।
उपन्यासमा एक जना वयस्क महिलाको अर्को वयस्क महिलाप्रतिको आकर्षण तथा बालिका र किशोरहरूबीचको पनि समलैंगिक आकर्षण र गतिविधिलाई समेट्नुभएको छ। यो लेख्नु पछाडिको पृष्ठभूमि के हो? समाजमा यो कुरा कत्तिको फैलिएको छ जस्तो लाग्छ तपाईंलाई?
साँच्चै भन्नुपर्दा मैले समलैंगिकताबारे सोचेर लेखेकी थिइनँ। मलाई के लाग्छ भने हाम्रो समाजमा केटा र केटीबीचको सम्बन्धमा यति धेरै बन्देज छन् कि हामी कुनै पनि प्रकारको प्रेम स्वीकार नै गर्दैनौं, चाहे समलिंगी होस् वा विपरीत लिंगी। मागी विवाहप्रधान समाज भएकाले केटी मात्रै होइन, धेरै केटाले पनि आफ्नो यौनिकता बुझ्ने वा अभ्यास गर्ने अवसर पाउँदैनन्।
यौनिकता र यौन आनन्द बुझ्न सबैलाई सुरक्षित ठाउँ चाहिन्छ। समाजमा यसका लागि सुरक्षित वातावरण छैन। त्यसैले महिलाहरू कहिलेकाहीं आफ्नै लिंगका मानिससँग त्यो सुरक्षित स्थान पाउँछन्।
यस पुस्तकमा पनि दिदीबहिनीबीच एउटा त्यस्तै गतिविधि छ। जुन समाजमा महिलालाई घर बाहिर जान दिइँदैन, त्यो समाजमा आनन्दको खोज त घरभित्रै हुन्छ नि!
अर्कातर्फ, हामीले केटा र केटीको दुनियाँ यति फरक बनाएका छौं कि धेरै महिला र पुरूष न आफू विपरीत लिंगीलाई बुझ्ने न त विपरीत लिंगीले आफूलाई बुझ्ने गरेको बताउँछन्। प्रेम पनि त एकअर्काप्रतिको बुझाइको अभिव्यक्ति हो, बुझाइ नै नभएपछि त्यहाँ प्रेम कसरी हुन्छ?
त्यसैले मैले यो किताब लेख्दा समलैंगिकताबारे लेखेकी थिइनँ, मैले यौन आनन्दको खोज र प्रयासबारे लेख्न खोजेकी थिएँ।
उपन्यासकी पात्र जस्तै तपाईं पनि मधेशी महिला, नेपाली बुबा र भारतीय आमाकी छोरी। नेपालमा मधेशी पहिचानबारे किन लेखिनुपर्छ जस्तो लाग्छ तपाईंलाई?
‘तिमी नेपाली हौ कि भारतीय?’ प्रश्न मैले सानैदेखि धेरै पटक सुन्दै आएकी छु। यो प्रश्नले म कति अलमल्ल पर्थें भन्ने मलाई अझै याद छ। मलाई धेरै वर्षसम्म यसको जवाफ नै थाहा थिएन। यो अन्तर्द्वन्द्व मैले धेरै मधेशीभित्र देखेकी छु।
नेपालमा मधेशी सधैंभरि गाह्रो पहिचान थियो। अहिले अलि सजिलो हुँदै छ।
मैले मधेशी पहिचानबारे नेपाली साहित्यमा मात्र नभएर कुनै पनि साहित्यमा पढेको छैन। त्यसैले मलाई यो सत्य लेख्नुपर्छ जस्तो लाग्यो अनि लेखें।
यो उपन्यास अंग्रेजीमै किन लेख्नुभयो?
मैले अंग्रेजी बाहेक अर्को भाषामा लेख्ने गरेकै छैन। अरू भाषामा लेख्ने आत्मविश्वास पनि छैन।
अर्को कारण चाहिं, मलाई ‘ग्लोबल’ किताब लेख्न मन थियो। कुनै पनि देशमा भएका जातजातिको अन्तरक्रिया त्यो देशभित्र मात्र सीमित हुँदैन। यो विश्वव्यापी मुद्दा हो, नेपालभित्र पनि छ र बाहिर पनि। त्यसैले मेरो पुस्तक पनि विश्वव्यापी रूपमा पढ्न सकिने होस् जस्तो लाग्छ।
भर्खर लेखन शुरू गरेका युवालाई के भन्न चाहनुहुन्छ?
आफूलाई जे सत्य लाग्छ, त्यो लेख। अरूले यो लोकप्रिय विषय हो, यो लेख्नुपर्छ भन्लान् तर त्यो सोच्नु हाम्रो काम होइन। हाम्रो काम सत्य लेख्नु हो।