बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी भद्र अवज्ञामा
धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई हटाउनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीले भद्र अवज्ञा आन्दोलन शुरू गरेका छन्।
उच्च अदालत, विराटनगरले बढुवा प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि आन्दोलनरत शिक्षक र कर्मचारीको संयुक्त संघर्ष समितिले कार्कीलाई हटाउन माग गरेको हो। प्रतिष्ठानले २०७९ पुस २० र २५ गते प्रकाशन गरेको बढुवा सम्बन्धी विज्ञापन उनी नियुक्त भएर आएदेखि विभिन्न बहानामा अवरुद्ध गरेको र आफैंले पटक पटक हस्ताक्षर गरेर अगाडि बढाउने भनी जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारिणी समितिको बैठक बोलाएर माग सम्बोधन गर्न निर्देशन दिएका थिए। तैपनि कार्कीले सहमति जनाएका छैनन्। कार्यकारिणी समितिको बैठक चल्दै गर्दा बीचमै निस्किएर निर्णयमा हस्ताक्षर समेत नगरेको संघर्ष समितिले जनाएको छ।
उनले प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएकाले, शिक्षक तथा कर्मचारीमा उत्प्रेरणा र ऊर्जा थप्न पदोन्नति जस्तो महत्त्वपूर्ण कार्य समेत गर्न नसकेकाले हटाउनुपर्ने संघर्ष समितिका संयोजक कविता ढकाल र डा. सरोज अहमद खानले जनाएका छन्।
कार्कीले दिएको निर्देशन तथा निर्णय नमान्ने उनीहरूले जनाएका छन्। उनीहरूले भनेका छन्, ‘गैरजिम्मेवार व्यक्तिलाई कामु उपकुलपतिको रूपमा स्विकार्न नसकिने निर्णय भएकाले आजैका मितिदेखि निजले प्रतिष्ठानको कार्यकारीको रूपमा गर्ने कुनै पनि निर्णय तथा निर्देशन कार्यान्वयन नगर्न, नगराउन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूमा विशेष अनुरोध गर्दछौं।’
माग पूरा नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले जनाएका छन्। विज्ञप्तिमा भनेका छन्, ‘माग पूरा नहुन्जेलसम्म भद्र अवज्ञा यथावत् रहने समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौं।’