भारत होइन इन्डिया
हिन्दूस्तान र भारत जस्ता शब्दमा हाम्रो सामाजिक-सांस्कृतिक साइनो भएको र ती शब्दले भूभाग जनाउँदा कतिपय सन्दर्भमा नेपाल पनि त्यसभित्र पर्न सक्ने हुँदा राजनीतिक सचेततामा दक्षिण छिमेकी राष्ट्रलाई इन्डिया भन्नु नै बढी उपयुक्त हुन्छ।
हामी हाम्रा दक्षिणको छिमेकी राष्ट्रलाई हिन्दूस्तान, भारत र इन्डिया तीन नाम पर्यायवाची रूपमा सरोबरी प्रयोग गर्छौं। त्यहाँका मानिसले पनि त्यसै गर्ने हुँदा यसो गर्न हामीलाई सहज लागेको छ। तर ती शब्दका निर्माण र विकासको इतिहास बुझे पछि खुल्दुली पलाउँछ- के त्यसो गर्दै रहनु हाम्रा सन्दर्भमा उपयुक्त छ?
चिर वा निरन्तर परिवर्तन भाषाको मूलभूत विशेषता हो जस अन्तर्गत शब्दको अर्थगत परिवर्तन पनि पर्छ। अर्थविज्ञान भाषाविज्ञानको एक शाखा हुँदाहुँदै पनि यसलाई कसैले स्वतन्त्र विज्ञान र कसैले दर्शनशास्त्रको शाखा मान्दछन् {भोलानाथ तिवारी, भाषाविज्ञान, किताब महल, इलाहाबाद, इ. १९९२ संस्करण (प्रथम १९५१) पृ.२५२०} दर्शनशास्त्र भन्ने बित्तिकै त्यहाँ तर्कशास्त्र पनि समावेश हुन्छ। यसरी अब हामी यस लेखमा (यहाँ) शब्दको भाषिक इतिहास हुँदै तार्किकताको द्वन्द्वमा फस्ने जमर्को गर्दै छौं।
उपर्युक्त तीन शब्दमध्ये तुलनात्मक रूपमा इन्डिया नयाँ हो र हिन्दूस्तान निश्चततः पुरानो, अनि भारत मात्र संस्कृत मूलको शब्द हो। यी तीन शब्दमा सिंगो हिन्द उपमहाद्वीपको आदिम कालदेखि वर्तमानसम्मको इतिहासको विकासको संक्षिप्तता छिपेको छ। संस्कृत भाषाको प्राचीनतम रूप वैदिक संस्कृत हो। यसैलाई भाषाको सर्वप्राचीन स्वरूप मानेर सनातन धार्मिक दृष्टिले यी अपौरुषेय देव सृजना मानियो। धार्मिक यस दृष्टिकोणलाई मान्नेहरूको कमी अहिले पनि छैन।
विश्वमा उपलब्ध भाषाका लिखित सामग्रीमा वेद नै सर्वप्राचीन रहेको र वेद कृतिको जानकारी विश्वले पाएपछि नै खासमा विश्वका भाषाहरूको भाषावैज्ञानिक तुलनात्मक अध्ययन प्रक्रियाको विकास हुँदा आरम्भमा संस्कृतबाटै विश्वमा अरू भाषा फैलेको अनुमान पनि भाषावैज्ञानिकहरूले नगरेका होइनन्। तर आजसम्मको अध्ययनले वस्तुस्थिति त्यस्तो ठहरिएन र संस्कृत भाषा विश्वमा अधिकांश भागमा फैलेको र सर्वाधिक मानिसले बोल्ने इन्डो-यूरोपेली (हिन्द-यूरोपेली/भारोपेली) परिवारको हिन्द उपमहाद्वीपमा विकसित एक शाखा मात्र ठहरियो।
हिन्द उपमहाद्वीपमा संस्कृत भाषा बोल्नेहरूले आफूलाई आर्य भन्दथे जसको अर्थ नेपाली अनेक शब्दकोशले श्रेष्ठ, उपल्लो, उत्तम, उच्च, आदर गर्न योग्य, कुलीन आदि अर्थ जनाए तापनि डी.बी. महाजनले ‘आर्य’ या ‘ऐर्य’ को अर्थ कृषिमा रहने मानिस वा उत्तम परिवारको मानिस थियो भन्ने संकेत गरेका छन् (‘प्राचीन भारतका इतिहास’, एस. चन्द एन्ड कम्पनी, नई दिल्ली, पृ. ७८)। उनीहरूले यस ठाउँमा आफूहरू आउनुभन्दा अघिदेखि बसोबास गरिबसेका जातिहरूलाई अनार्य भने र त्यस बाहेकका यहाँका जाति अनार्यमा राखिए। कालान्तरमा आर्य भाषा संस्कृत र आर्यद्वारा सृजित आर्य संस्कृति नै हिन्द उपमहाद्वीपभरि फैलेर दरोसित स्थापित भएको हुँदा त्यस इतरका कुरा क्रमशः लोप, विलयन र विस्मरण भए।
इन्डो-यूरोपेली परिवारको भाषा बोल्नेहरूको बसोबास अहिले हिन्द उपमहाद्वीपदेखि यूरोपसम्म फैलेका हुनाले आदिममा यो भाषा बोल्नेहरूको मूल थलो यूरोप र एशियाको बीचमा युराल पर्वतको फेदको किरगिज (किरगिजस्तान)को मैदान हो (भोलानाथ तिवारी, पूर्ववत्, पृ. ११९) अर्थात् अस्ट्रिया र हंगेरीको मैदान (डी. बी. महाजन, पूर्ववत्, पृ. ७८) थियो भन्ने टुंगोमा हालसम्म विद्वान्हरू पुगेका छन्। त्यस क्षेत्रमा अहिले पनि यस परिवारका अनेकन् भाषा बोलिन्छ। यो भाषा बोल्ने मानिस विश्वमा फैलनुअघि त्यस मूल थलोमा बस्ने आदिम मानिसलाई भाषाविज्ञानमा वीरोस भन्ने कल्पित नाम दिइएको छ। यो शब्द संस्कृतको ‘वीर’, ल्याटिनको ‘विररभिर’, प्राचीन आइरीको ‘फेर’ र जर्मनीको ‘वेर’ शब्दहरूको आधारमा निर्माण गरिएको हो किनभने यी शब्द वीरोसहरूको बोलीबाट कालान्तरमा विकसित हुन्।
वीरोसहरू एकथरी यूरोपतिर फैले र अर्काथरी एशियातिर। एशिया लागेकाहरू बृहत् इरानमा बसोबास गरे र अझै पूर्व लाग्नेहरू हिन्द उपमहाद्वीप आइपुगे। त्यसैले भाषाविज्ञानमा इन्डो-यूरोपेली महापरिवारका बृहत् इरान र हिन्द उपमहाद्वीपमा बोलिने भाषाहरूलाई इन्डो-इरानी उपपरिवारका रूपमा गणना गरिन्छ जसभित्र दरद पनि पर्छ। अतः पछि संस्कृत भाषाको विकास गर्ने आर्यहरू पहिला बृहत् इरानमा बसेर यता आएको देखिन्छ। बृहत् इरान क्षेत्रमा नै उनीहरूले आफूलाई आर्य भन्न थालिसकेका थिए किनभने इरान शब्द नै आर्य शब्दबाट व्युत्पत्ति भएको हो- आर्याणाम > अइराण > इराण (भोलानाथ तिवारी, पूर्ववत्, पृ.११२)।
उनीहरूले आफू बसेको क्षेत्रलाई इरान भने भने हिन्दकुश पर्वतपारिको विशाल भूमिलाई हिन्दूस्तान भने। बृहत् इरान वरपरका ठाउँका आदिमबासीले आफू र आफ्नो ठाउँ जनाउने शब्दमा इस्तान जोडेर सो ठाउँलाई जनाउने गरिएको पाइन्छ यथा, बाल्टिस्तान, हजारिस्तान आदि। संस्कृतका ‘स’ ध्वनि बनेका कतिपय शब्द इरानी समूहका भाषामा ‘ह’ ध्वनि रहेको पाइन्छ शब्दको आदि, मध्य र अन्यमा पनि यथा, सप्त > हप्त, सप्ताह > हफ्ता, सावन > हावन, अहुर > असुर, अहि > असि (भोलानाथ तिवारी, ऐजन, पृ. १२७)।
हिन्दकुश पर्वतको पूर्व फेदमा रहेको सिन्धु नदीलाई सम्भवतः त्यस वेलादेखि नै त्यहाँका आर्यपूर्वका बासिन्दाले सिन्धु नै भन्दथे जसलाई इरानी समूहका इन्डो-यूरोपेलीभाषीहरूले हिन्दू वा हिन्द भन्न थाले। यही हिन्दबाट त्यस परिवारका यूरोपतिर फैलेको भाषामा इन्द हुँदै इन्डर, इन्डस र इन्डिया शब्दहरू बने। यता हिन्द उपमहाद्वीप छिरेर त्यसभरि फैलेका आर्यहरूले वर्तमान सिन्धु नदी र आसपासलाई चाहिं हिन्द नभनी सिन्ध वा सिन्धु नै भने किनभने त्यहाँ उनीहरू आउँदा सिन्धु उपत्यकाको सभ्यता चलिरहेकै थियो, त्यसैले त्यसलाई यथावत् सोही नाममा प्रयोग गरे तर त्यो लगायत पूर्वका बृहत् भूभागलाई बृहत् इरानमा छँदादेखि आफूहरूले भन्दै आएको हिन्दूस्तान नै भने। त्यसैले हिन्दू शब्द संस्कृत मूलको होइन। संस्कृत भाषा ती आर्य हिन्द उपमहाद्वीपमा आएपछि यहाँका अनेक आदिवासीको बोलीसित मिश्रण भई विकसित भएको भाषा हो।
पण्डित जवाहरलाल नेहरू लेख्छन्, “हाम्रा पुराना साहित्यमा त ‘हिन्दू’ लवज कहीं आउँदै आउँदैन। मलाई बताइएको छ कि यो लवज जुन हिन्दूस्तानी पुस्तकमा पाइन्छ त्यो इस्वीको आठौं शताब्दीको एक तान्त्रिक ग्रन्थ हो र त्यहाँ हिन्दूको मतलब कुनै खास धर्मसित नभई मानिसहरूसित थियो। परन्तु यो लवज निकै पुरानो हो र अवेस्ता र पुरानो फारसीमा आउँछ। त्यस समय र त्यस समयको हजार सालसम्म पश्चिमी र मध्य एशियाका मानिस यो शब्दको उपयोग हिन्दूस्तानको लागि होइन, सिन्धु नदीको पारि यता बस्ने मानिसहरूका लागि गर्थे। यो लवज साफ साफ ‘सिन्धु’ बाट निस्केको हो र यो इन्डसको पुराना र नयाँ नाम हो। यो सिन्धु शब्दबाट हिन्दू र हिन्दूस्तान बने तथा इन्डोस र इन्डिया पनि” (रामचन्द्र टंडन र सुरेश शर्माद्वारा अनूदित पं. जवाहरलाल नेहरूको द डिस्कभरी अफ इन्डियाको हिन्दी अनुवाद हिन्दूस्तानकी कहानी, सस्ता साहित्य मण्डल प्रकाशन, १९९७, पृ. ९७। यस उद्धरणमा हिन्दूस्तान शब्द राजनीतिक सीमाबद्ध इन्डियाको अर्थमा छ- लेखक)।
यसरी हिन्दू र हिन्दूस्तान शब्द आर्यहरूले बृहत् इरानमा छँदादेखि सिन्धु र त्यसभन्दा पूर्व बस्ने मानिसलाई र ती बस्ने ठाउँलाई जनाउने गरेका थिए। अतः ब्रिटिश इन्डियाकालमा हिन्दूस्तानमा रहेका अनेक राज्यहरूलाई ब्रिटिशले एक-एक गर्दै आफ्नो अधीनमा पार्दा पनि हिन्दूस्थान शब्द चाहिं आफ्नो राज्यभन्दा बृहत् हिन्द उपमहाद्वीपलाई नै जनाउने गरेको प्रसंग डेढ सयभन्दा केही अघि जंगबहादुर राणाको शासनकालमा लेखिएको डानियल राइटको किताबमा एकै वाक्यमा नेपाल, इन्डिया र हिन्दूस्तान शब्दहरू निकै घतलाग्दो किसिमले सामेल पाइन्छ- “इन्डियाको नक्सा हेरेर जो कसैले पनि नेपाल हिन्दूस्तानमा उत्तरपूर्वी सीमामा रहेको स्वतन्त्र अधिराज्य हो भनेर पत्ता लगाउन सक्छ” (हिस्ट्री अफ नेपाल विथ एन इन्ट्रोडक्ट्री स्केच अफ द कन्ट्री एन्ड पिपल अफ नेपाल, न्याशनल एजुकेशनल सर्भिसेज, नयाँ दिल्ली, इ. १९९० संस्करण : प्रथम संस्करण १८७७, पृ. १।)
यस वाक्यले स्पष्ट भन्छ- हिन्दूस्तानमा नेपाल पनि छ। यति कुरा बुझिसकेपछि मेरो मन खुलदुलिएको छ- के हामीले इन्डियालाई हिन्दूस्तान भन्दै रहन राजनीतिक चेतनाले दिन्छ?
अब भारतको कुरा! यसको उल्लेख ऋग्वेदमा छ। पौराणिक प्रसंगहरूका आधारमा दुष्यन्त र शकुन्तलाका पुत्र भरत चक्रवर्ती राजा भएपछि उनको राज्यलाई भारत भनियो भन्ने महाभारतबाट लिइएको प्रसंग सर्वाधिक प्रचलित भए पनि भरत नामका पौराणिक र ऐतिहासिक राजाहरू अरू पनि छन् यथा, दशरथका माहिला छोरा भरत वा ऋषभदेवपुत्र भरत आदि जसका नामबाट भारत देश बन्यो भन्ने भनाइहरू पनि पाइन्छ। तर यो शब्द ऋग्वेदको सातौं मण्डलमै ‘दशराज युद्ध’को प्रसंगमा एक आर्य समुदायलाई जनाइएको पाइन्छ जसका नायक एक सुदास थिए।
यस भारत आर्यको १० थरी मिलेको अर्को समूहसित युद्ध भयो। त्यस १० थरीमा कोही आर्य र कोही अनार्य थिए। १० प्रमुख जातिका नामबाट दशराज भनिए पनि त्यस सम्मिलनमा १० भन्दा बढी जाति थिए सिन्धु पश्चिम र पूर्वका। अलीन, पक्थ, भालानाशे, शिव र विषाणिन् वंश सिन्ध पश्चिमका थिए, सिन्धुयताका अणु, द्रुह्यु, तृवष, यदु र पुरू थिए (डी.बी. महाजन, पूर्ववत्, पृ.१०२)। पछिल्ला पाँचलाई पञ्चजन पनि भनिन्छ। तर यस बाहेक अज, शिग्र र यक्ष जस्ता पूर्वी खण्डका अप्रमुख मानिएका जाति पनि सम्मिलित थिए।
सुशान्त कुमारको अनुमान अनुसार यो युद्ध १६०० इ.पू.मा भएको हुनुपर्छ (ट्राइबल फ्युजन एन्ड सोसियल इभोलुसन, ... पृ. २१)। यस युद्धमा भारत आर्यका राजा सुदासको विजय भयो र उत्तरी हिन्द उपमहाद्वीपमा उनको राज्य कायम भयो। यहाँ ‘उत्तरी हिन्दमहाद्वीप’ भनिए पनि यसको अर्थ हिन्द उपमहाद्वीपको सुदूर उत्तर-पश्चिम खण्डभन्दा केही पूर्वी उत्तरी भाग भन्ने हो अर्थात् यमुना र गंगाको मैदान। यसरी पन्जाब (हाल इन्डिया र पाकिस्तान)देखि यमुना-गंगा मैदान (इन्डिया)मा भारत आर्यको राज्य कायम भयो र त्यो भारत जातिको क्षेत्र भन्ने अर्थमा भारतवर्ष र भारतखण्ड भनिन थालियो। त्यस क्षेत्रमा विकसित भएको आर्य संस्कृति नै पछि क्रमशः हिन्द उपमहाद्वीपभरि फैलने क्रममा भारत आर्यको संस्कृति भन्ने अर्थमा भारतीय संस्कृतिको नाममा फैल्यो, जसको प्रभाव अनार्यहरूमा पनि पऱ्यो र नेपाल लगायतको आर्यकृत संस्कृति भारतीय मानियो।
कतिपयको बुझाइ अहिले ‘भारतवर्ष’ भनियो भने सिंगो हिन्द उपमहाद्वीप बुझिन्छ र त्यसमा नेपाल पनि पर्छ, भारत मात्र भन्दा नेपाल पर्दैन वर्तमान राजनीतिक सीमाको इन्डिया बुझिन्छ भन्ने छ। वास्तवमा शाब्दिक अर्थले भारतवर्षको ‘वर्ष’ वा भारतखण्डको ‘खण्ड’ ले ‘बृहत्’ भन्ने संकेत पाइँदैन, जसरी बृहत् इरान भन्नाले प्राचीन फारस र अफगानिस्तान आदि सहितको इलाका भन्ने संकेत गर्दछ। ‘वर्ष’ को मूल अर्थ खण्ड, क्षेत्र, अंश आदि हो। यसै अर्थको विस्तार भएर हामीले १२ महीनाको कालखण्डलाई वर्ष भन्ने गरेका हौं।
तसर्थ भारतहरूको इलाका वा खण्ड भन्ने अर्थ जनाउन ‘भारतवर्ष’ वा ‘भारतखण्ड’ प्रयुक्त भएका हुन् भने भारतले आर्यको उपर्युल्लिखित विजित वंश वा जातिलाई बुझाउँथ्यो। कालान्तरमा भारतवर्ष वा भारतखण्डको छोटो रूपमा ठाउँ जनाउन पनि भारत शब्द प्रयोग हुन थाल्यो। विष्णुपुराणको रचनाकालसम्ममा यस अर्थमा भारत शब्द प्रयोग भइसकेको पाइन्छ। विष्णुपुराण इशाको तेस्रोदेखि छैटौं शताब्दीमा लेखिएको मानिन्छ (मातृकाप्रसाद कोइराला, कोशीको कथा, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर, पृ. ८)। यसको २।३।१ को श्लोक:
उत्तरं यत्समुद्रस्य हिमाद्रैश्चैव दक्षिणम्।
वर्षं तद्भारतं नाम भारती यत्र सन्ततिः।।
यसमा वर्ष शब्दले क्षेत्र वा इलाका अर्थ जनाएको मननीय छ र यसले भारत शब्दले नै भारतवर्षलाई बुझाएको पनि स्पष्ट छ। श्लोकले समुद्रदेखि उत्तर र हिमाद्रिदेखि दक्षिणको वर्ष (खण्ड) भारत हो, यसका सन्तति भारती हुन् भनेको छ। ऐतिहासिक तवरले भारत आर्यहरूले यमुना-गंगा मैदानमा दरो राज्यसत्ता स्थापना गरेपछि त्यहाँ विकसित आर्य संस्कृति त्यहाँबाट पूर्व र दक्षिणमा राज्यसत्ताको बलमा भन्दा पनि सांस्कृतिक विस्तारका रूपमा फैलेको देखिन्छ, जुन अनार्य जाति र सत्ताले विस्तार विस्तार अंगीकार गरे। त्यसैले सो फैलेको क्षेत्र र अंगीकार गर्ने मानिसलाई क्रमशः भारत र भारती भन्न थालिएको देखिन्छ।
सामवेदसित सम्बन्धित जैमिनीय ब्राह्मण ग्रन्थमा अनार्यलाई कसरी आर्य बनाउने भन्ने कुरा पनि जनाइएको छ (डी.बी. महाजन, पूर्ववत्, पृ.८४)। ब्राह्मण ग्रन्थहरू मूलतः यज्ञको प्रतिपादन विधिसित सम्बन्धित छन् (आचार्य देवीशंकर मिश्र र डा. राजकिशोर सिंह, संस्कृत साहित्य का इतिहास, प्रकाशन केन्द्र, लखनऊ, पृ. ५१)। यमुना-गंगा मैदानभन्दा पूर्वमा शक्तिशाली अनार्य राज्यहरू थिए र दक्षिणमा द्रविडहरूको पकड थियो (डी.बी. महाजन, पूर्ववत् पृ. ८०-८१)। त्यसकारण यी क्षेत्रमा आर्य राज्यकै विस्तारभन्दा पनि भारत आर्य संस्कृतिको व्यापक विस्तारद्वारा हिन्द उपमहाद्वीप आर्यहरूको कब्जामा गयो।
यसै सन्दर्भमा अग्निपुराणको उपर्युक्त श्लोकले भारतले चर्चेको क्षेत्रमा नेपाल पनि रहेको देखाउँछ। त्यसैले भोलानाथ तिवारीले इन्डो-यूरोपेली भाषाको इन्डियाली आर्य भाषा (हिन्द उपमहाद्वीपका आर्य भाषा)हरूको चर्चा गर्ने क्रममा यसलाई ‘भारतीय आर्य भाषा’ भन्ने उपशीर्षक दिंदै शुरू अनुच्छेदमै बडो सचेतताका साथ लेख्छन्, “उल्लेख्य छ कि यहाँ ‘भारतीय’ मा ‘भारत’ को अतिरिक्त ‘पाकिस्तान’, ‘बाँगला देश’ तथा ‘श्रीलंका’ पनि छन्” (पूर्ववत्, पृ. १३१)। दुर्भाग्यवश उनले नेपालको नाउँ त्यहाँ छुटाएका छन्।
यति कुरा बुझेपछि फेरि मनमा खुल्दुली हुन्छ- के हाल इन्डियाले चर्चेको भूखण्डलाई हाम्रो सांस्कृतिक परिदृश्यले भारत भनिरहनु उपयुक्त होला?
अब इन्डियाको कुरा। हुन त इन्डियाको सन्दर्भ पनि भारत शब्दकै जस्तो हो। सिन्धु शब्द यूरोप जाने क्रममा यूनान (ग्रीस) मा इन्दु भयो र त्यस उता इन्डस हुँदै इन्डिया भयो। प्राचीनकालमा यूरोपेलीहरूले यी शब्द निश्चय नै हिन्द उपमहाद्वीप बुझाउनाका लागि नै प्रयोग गरे किनभने यहाँ अनेक राज्य थिए र ती समग्रलाई यसै नामले बुझाए, सिन्धु उपत्यका सभ्यतालाई उनीहरूले इन्डस भ्याल्ली सिभ्लिजेशन भने। ब्रिटिशहरूले यहाँ सत्ताधिकार जमाउन प्रवेश गर्दा ‘इस्ट इन्डिया कम्पनी’ बनाएर छिरेका थिए। तर यी इन्डस वा इन्डिया शब्दहरू यता हाम्रो सन्दर्भमा सामाजिक-सांस्कृतिक रूपमा ठोकिन आएन।
इन्डिया शब्द यहाँ हामीसित ठोकिन आएको मूलतः ब्रिटिश इन्डियाकालमा हो। ब्रिटिश सरकारले इस्ट इन्डिया कम्पनी हुँदै हिन्द महाद्वीपका अनेक राज्यलाई एक-एक गर्दै आफ्नो मातहतमा गाभ्दै जाँदा ती गाभिएका ठाउँ सबलाई इन्डिया संज्ञा दिए। नगाभिएकालाई इन्डिया नभनेको कुरा माथि उद्धृत डानियल राइटको वाक्यले देखाउँछ। उनीहरूले हिन्द उपमहाद्वीपका अनेक राज्यहरूमध्ये एक-एक गरी गाँसेर बनाएको विशाल राज्यलाई इन्डिया भने पनि त्यसलाई स्वतन्त्रता दिने वेला इन्डिया र पाकिस्तान नामका दुई राज्य बनाई त्यहाँका जनतालाई सुम्पेर गएका हुनाले आलो इतिहासका लागि हाम्रो दक्षिणको राज्य इन्डिया हो।
अतः हिन्दूस्तान र भारत जस्ता शब्दमा हाम्रो सामाजिक-सांस्कृतिक साइनो भएको र ती शब्दले भूभाग जनाउँदा कतिपय सन्दर्भमा नेपाल पनि त्यसभित्र पर्न सक्ने हुँदा राजनीतिक सचेततामा दक्षिण छिमेकी राष्ट्रलाई इन्डिया भन्नु नै बढी उपयुक्त हुन्छ भन्ने मेरो सोच हो।
हिन्द उपमहाद्वीपमा आर्यहरू कहिले र कसरी आए भन्ने कुरामा अनेक मत हुँदाहुँदै पनि बहुजनमान्य एउटा निष्कर्षलाई पछ्याउनुपर्ने हुन्छ।
(सहप्राध्यापक प्रधान लेखक तथा समालोचक हुन्।)
यो पनि पढ्नुहोस् :