यू-१९ विश्वकप : समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्दै
आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपमा आज नेपालले अफगानिस्तानको सामना गर्दै छ।
नेपाली टोलीको समूह चरणको अन्तिम खेल दिउँसो १:४५ बाट शुरू हुनेछ। सुपर सिक्स चरणमा प्रवेश गर्न आज दुवै टोली बफेलो पार्क मैदानमा हुने खेल जित्नैपर्ने दबाबमा हुनेछन्।
प्रतियोगिताका चार समूहमध्ये प्रत्येकबाट तीन-तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्समा ६-६ वटा टोलीको दुई समूह हुनेछ जहाँ हालका समूह ‘ए’ र ‘डी’ तथा समूह ‘बी’ र ‘सी’ आपसमा भिड्नेछन्।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो। उता अफगानिस्तानले पाकिस्तान विरुद्धको पहिलो खेलमा १८१ रन तथा दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटले हार बेहोरेको थियो।