देशको ४२ प्रतिशत अर्थतन्त्र अनौपचारिक
देशको अर्थतन्त्रको करीब ४२ प्रतिशत हिस्सा अनौपचारिक रहेको नयाँ अध्ययनले देखाएको छ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागको अनौपचारिक अर्थतन्त्रको आकार सम्बन्धी नयाँ अध्ययनले देशको औपचारिक अर्थतन्त्रको गणनामा नआउने वस्तु र सेवाको उत्पादन तथा उपभोग ठूलो रहेको देखाएको हो। अर्थशास्त्री शिवराज अधिकारी र निर्मलकुमार राउतको अध्ययनले विगत दशकमा अनौपचारिक अर्थतन्त्रको आकार ४० देखि ४२ प्रतिशतसम्म रहेको देखाएको छ।
सन् २०१०/११ देखि सन् २०२०/२१ सम्मको तथ्यांकमा आधारित भएर दुईखाले दृष्टिकोणबाट विश्लेषण गरिएको हो। राष्ट्रिय लेखाको दृष्टिकोणबाट गरिएको विश्लेषणले यो अवधिमा अर्थतन्त्र सरदरमा ४२.६६ प्रतिशत अनौपचारिक रहेको देखाएको छ। त्यसैगरी, मुद्राको माग सम्बन्धी दृष्टिकोणबाट गरिएको विश्लेषणले एक दशकमा अर्थतन्त्र सरदरमा ४०.०६ प्रतिशत अनौपचारिक रहेको देखाएको छ।
यद्यपि राष्ट्रिय लेखाको दृष्टिकोणबाट गरिएका विश्लेषणले सन् २०१०/११ को तुलनामा पछिल्ला वर्षमा अनौपचारिक अर्थतन्त्रको आकार घटिरहेको देखाएको छ। राष्ट्रिय लेखाको आधारमा गरिएको विश्लेषण अनुसार सन् २०१०/११ मा अनौपचारिक अर्थतन्त्रको आकार ४९.१ प्रतिशत थियो। यो सन् २०२०/२१ मा आइपुग्दा ३८.६ प्रतिशतमा झरेको छ।
सबैभन्दा धेरै घरजग्गा कारोबार र कृषि क्षेत्रमा अनौपचारिक अर्थतन्त्र उच्च रहेको अध्ययनको निष्कर्ष छ। घरजग्गा क्षेत्रमा ९९.९७ प्रतिशत र कृषिमा ९६.४८ प्रतिशत अनौपचारिक छ। होटल तथा रेस्टुराँमा ५०.४२ प्रतिशत अनौपचारिक छ।
विकासशील र विकासोन्मुख मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार विकसित मुलुकका तुलनामा धेरै हुने अध्ययनहरूले देखाउने गरेका छन्। अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुँदा सरकारको राजस्व कम उठ्ने, उत्पादकत्व कम हुने तथा अर्थतन्त्रका तथ्यांकहरू सही नहुने जोखिम हुन्छ।
अनौपचारिक अर्थतन्त्रले लेखांकन नभएको अर्थतन्त्रलाई जनाए पनि भूमिगत र अवैध आर्थिक क्रियाकलाप यसमै समेटिन्छ। यद्यपि सबै अनौपचारिक अर्थतन्त्र भूमिगत र अवैध आर्थिक क्रियाकलाप होइनन्।