नबिलले ल्यायो प्रवासी उद्यमशील कर्जा योजना
विदेशबाट फर्किएका तथा विदेशमा रहेका युवाको परिवारलाई लक्ष्यित गरेर नबिल ब्यांक लिमिटेडले नयाँ कर्जा योजना ल्याएको छ।
विदेशमा सिकेको सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न ब्यांकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना शुरू गरेको हो। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यो योजना सार्वजनिक गरेका हुन्।
नबिल ब्यांकको यस योजनाले विदेशिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन सहयोग पुग्ने बताए। श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फर्केका नेपालीको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन नयाँ योजना ल्याएकोमा प्रशंसा गरे।
नबिल ब्यांंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित रहेर ब्यांकले आफ्नो यात्रा अघि बढाएको बताए। “यो कर्जा योजना ब्यांकले व्यावसायिक रूपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रूपमा लिएका छौं,” अध्यक्ष पौड्यालले भने।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिगो यात्रालाई जोड दिएको बताए। यस योजना दिगो ब्यांकिङ विकासका लागि कोशेढुंगा सावित हुने उनको भनाइ थियो।
यस योजना अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम रु.१० करोडसम्म कर्जा उपलब्ध गराइनेछ। यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ। यस कर्जामा ब्यांंकले आधारदरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने भएको छ।