गण्डकीबाट किरण, पदम र मनरूपा निर्वाचित
गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेसबाट अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपांगतातर्फ तनहुँका पदमबहादुर परियार तथा नेकपा (माओवादी केन्द्र)बाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा विजयी भएका हुन्।
अन्यतर्फका उम्मेदवार रहेका श्रेष्ठले प्रदेशबाट ३६ जना र स्थानीय तहबाट १०० जनाको मत पाए। जसको मतभार तीन हजार ८०८ रह्यो।
अपांगतातर्फबाट विजयी परियारले प्रदेश सभातर्फ ३५ जना र स्थानीय तहबाट १०१ जनाको मत पाए। उनको मतभार तीन हजार ७७४ छ।
त्यस्तै, महिलातर्फ विजयी शर्माले प्रदेशका ३५ जना र स्थानीय तहका ९६ जनाको मत प्राप्त गरिन्। उनले तीन हजार ६०७ मतभार पाइन्।
राष्ट्रिय सभा निर्वाचनमा बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बाहेक २२९ जनाले मतदान गरेका थिए।