अनिलको शतकले मधेशको फराकिलो जित
अनिल साहको शतकको मद्दतले मधेश प्रदेशले गण्डकीलाई १४५ रनले पराजित गरेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ४९.५ ओभरमा १९० रनमै समेटिएको हो। गण्डकीका लागि ईश्वर क्षेत्री र कमल परियारले २७-२७, कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२ तथा समीर कँडेल र मुस्कान थापाले १८-१८ रन बनाए।
मधेशका लागि रञ्जित कुमारले चार, हरिशंकर साहले तीन, प्रदीप पासवानले दुई र राजेश यादवले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको मधेशले पाँच विकेटको क्षतिमा ३३५ रन बनाएको थियो। अनिल साहले १२५ बलमा १२७ रन बनाएका थिए।
त्यस्तै, अरनिको यादवले ६३, पवन सर्राफले ४०, रूपेश सिंहले ३२, मयन यादव र अभिषेक तिवारीले २७-२७ रन बनाए।
गण्डकीका लागि सन्दीप पराजुलीले दुई, कृष्ण पौडेल र कमल परियारले एक-एक विकेट लिए। यो जितसँगै मधेश प्रदेशको १० अंक पुगेको छ। एक खेल बाँकी रहँदा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
त्यस्तै, अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको छ। लुम्बिनीले दिएको १३४ रनको लक्ष्य एपीएफले २२.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। एपीएफका लागि रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले ४८ बलमा ५२ रन बनाए।
यसैगरी, तेस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको छ। बागमतीले दिएको २४८ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम ३०.३ ओभरमा १५० रनमै समेटिएको हो।
अहिलेसम्म खेलेका पाँचै खेल जितेर नेपाल प्रहरी क्लब १० अंक सहित रनरेटका आधारमा शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको बागमती आठमध्ये पाँच खेल जितेर १० अंक बनाउन सफल भएको छ।
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमको आठ-आठ अंक छ भने एपीएफ र कर्णालीको ६-६ अंक छ। गण्डकीले चार र लुम्बिनीले दुई अंक जोडेका छन् भने कोशीले कुनै खेल जित्न सकेको छैन। शुक्रबार कर्णाली र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।