बागमतीमा बालेन सहित पाँच जनप्रतिनिधिले मतदान गरेनन्
राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका पाँच जना जनप्रतिनिधि मतदानमा सहभागी भएनन्।
हेटौंडामा सम्पन्न मतदानमा दुई सांसद र तीन जना स्थानीय जनप्रतिनिधि मतदानमा सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागमती प्रदेश सभाका सदस्य शैलेन्द्र बज्राचार्य र सरिता खड्गी अनुपस्थित रहे। उनीहरू हाम्रो नेपाल पार्टीका सांसद हुन्।
त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ र काभ्रेको चौंरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ पनि मतदानमा उपस्थित भएनन्।
प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका थिए भने स्थानीय तहतर्फ २३४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। केही बेरमै मतगणना शुरू हुने भएको छ।